चिनजान र सम्पर्क बढ्दै गएपछि पदयात्रा (टे्रकिङ) क्षेत्रमा विस्तारै मेरो उन्नति/प्रगति हुँदै गयो ?! त्यसैले म समय क्रमसँगै भरियाबाट स्पेर (पर्यटकलाई बिहानै बेलुकै पर्यटकहरुलाई खुवाउनका लागि चाहिने खाद्यानहरु बोक्ने), किचन ब्याई (खाना पकाउन चाहिने भाँडाकुँडा बोक्ने), शेर्पा (पाल-टेन्ट टाँग्ने, पर्यटकसँग हिँड्ने र राती पाल काटेर पर्यटकको क्यामरा लगायत बहु-मूल्य सरसामान चोरले चोरेर नलई जाउन् भनेर पालो गरेर पहरा बस्ने) र कुक हँुदै विसं २०६२ मा बल्ल औपचारिक रुपमा तालिम गरेर (सरदार) गाइडसम्म भईयो । यसै क्रममा सन् २००९ को अक्टोबर सिजन मेरो जीवनको पदयात्रा-ट्रेकिङ अवधि भरिकै (हाल मुटु रोगका कारण हाई एल्टिच्युड ट्रेकिङ गर्न छाडेको छु ।) तीतो र नमीठो अनुभव संगालेको थिए । सो वर्षको अक्टोबर सिजनमा ठमेलस्थित एक ट्रेकिङ एजेन्सीबाट एकजना क्यानडेली महिला पर्यटक लिएर टि हाउस (होटलमै खाने-बस्ने) ‘लाङटाङ-गोसाईकुण्ड-हेलम्बु ट्रेक’ गएको थिएँ ।
सो ट्रेक महेश बुढामगरजी (जो विसं २०५५/०५६ देखिका मेरा अनन्न्य मित्र पनि हुन् भने, हाल उनको ‘जोय ट्रेक्स’ नामक आप्mनै ट्रेकिङ एजेन्सी छ) ले फोनमार्फत एकजना साथीको एजेन्सीबाट ट्रेकिङ जानु पर्यो भनी आग्रह गरे । मैले नयाँ ट्रेकिङ एजेन्सीबाट काम गर्दा भविश्यमा केही राम्रो होला कि ? भनेर काममा जाने निधो गरँे । त्यसैले सो दिन म ठमेलस्थित काठमाण्डौं गेष्ट हाउस नजिक हान्निएँ । अफिसका हाकिमले बसको टिकट काट्ने पैसो दिएपछि म टिकट काट्न नयाँ बसपार्क हान्निएँ । दसैं चाडले गर्दा बसको सिट प्याका-प्याक थियो । टिकट लिएर अफिस आउँदा मसँग ट्रेक जाने खैरेनी (ट्रेकिङ क्षेत्रमा गोरो छाला भएको पर्यटकहरुलाई अक्सर खैरे-खैरेनी भन्ने चलन छ) पनि आईसकेकी रहिछिन् । उनको नाम रहेछ ‘—न्यान्सी र देश रहेछ ‘-द नेदरल्यान्ड अर्थात् हल्याण्ड ।’ सामान्य चिनजानपछि हामी छुट्यौं ।
बिहानै बालाजुस्थित माछापोखरीतर्फ हान्नियौं । ककनी काटेर ओरालो नपुग्दै गाडीको स्प्रिङ्ग भाँचियो । स्टाफले लगभग आधा घण्टा लगाएर नयाँ स्प्रिङ्ग फिट गरे । खाना खान त्रिशुली पुर्यायो । ग्राङ पुग्दा पानी पर्ला जस्तो भयो । ग्राङमाथिको फाँटमा असार-साउनदेखि असोज-कात्तिकसम्म पैह्रो गई रहने भएकोले गाडी परिवर्तन गरेर २०/२५ मिनेट पैदल हिँड्नु पर्ने । अर्को बस पक्डिएर जसोतसो धुन्चे पुग्यौं । किनभने, दुईवटा रिजर्भ बसको यात्रुहरु आँटी-नआँटी एउटै बसमा यात्रारत थियौं । कोही छतमा, कोही ढोकामा झुन्डिएर धुन्चे पुग्यौं ।
भोलिपल्टदेखि पैदल यात्रा सुरु भयो । ठूलो भार्कु, ब्राबल हुँदै ठूलो स्याब्रु पुग्यौं । ठूलो स्याब्रुबाट लामा होटल लन्च+क्याम्प नै पुग्यौं । अग्रिम सल्लाहअनुसार लामा होटलबाट दुई क्याम्प खापेर (लाङटाङ नबसी) क्यान्जिन गुम्बा पुग्यौं । भाग्यले भनौं वा सञ्जोगले मौसम राम्रो भएकोले बिहानै ‘क्यान्जिन री’बाट देखिने पूरा हिमाल लगायत टाढा क्षितिजका अन्य दृश्यहरु पनि छर्लङ्ग देखियो । खैरेनीले साह्रै गर्व गरी, खुशी मानी ! उनी अत्यन्तै प्रफुल्ल भईन् । फर्केर त्यही दिन लाङटाङ आयौं । यिनको अचम्मको बानी के थियो भने, यिनलाई बिहानै, बेलुकै नुहाउनु पर्ने ! त्यो वेला होटलको मेनुमा नुहाएको (सोलार हट सावर गरेको) १०० रुपैयाँ भए तापनि मैंले कुनै पनि होटलमा उनले नुहाए वापतको पैसा लिन दिईन, होटलवालाहरुलाई । त्यतिमात्रै होइन, धेरै जसो होटल/लजमा सुतेको (कोठाको) पनि मेनुमा १५०/२०० रुपैयाँ भए तापनि ५०/१०० रुपैयाँभन्दा बढी लिन दिईन । हुन पनि सुरुमा साह्रै मिजासिलो र दयालु भैmँ लाग्थिन्, उनी । किनभने, हरेक दिन मार्स बार, स्निकर लगायत चकलेट किनेर दिन्थिन । मलाई भने, किन बित्थामा बढी खर्च गराउनु जस्तो लाग्थ्यो । त्यसैले प्रायः नो थ्याङ्क्यु ! भनेरै टार्थेँ । तर, होटलवाला साहू-साहूनीहरु भने, ‘खैरेनीले खाभन्दा पनि किन नखाएको ? हाम्रो व्यापार त हुन्थ्यो !’ भनी रिसाउँथे ।
यसरी ट्रेक गर्ने क्रममा हामी गोसाईंकुण्डबाट पास गरेर ठाडेपाटी (रसुवा-नुवाकोट काटेर सिन्धुपाल्चोक जिल्ला) बास बस्न आई पुग्यौं । त्यहाँ जहिल्यै पानीको साह्रै दुःख हुने गर्छ । (अहिले पानीको राम्रो व्यवस्था भयो कि !) तै पनि मैंले त्यहाँ ‘बकेट सावर’ (एक बाल्टी तातो पानी) को व्यवस्था गरिदिएँ । तर ‘गुनले गुन खान्छ, तँलाई म खान्छु’ भने झैं अप्ठ्यो बाटो काटी सकेपछि उनलाई जसरी हुन्छ, निहुँ खोज्नु रहेछ कि क्या हो, नुहाउन छाडेर सुती छे । अरु पर्यटकहरुले खाना खाई सक्दा पनि उनी नआएपछि म उनलाई उठाउन गएको अहँ, उठ्दिनन् । जति ढोका ढक-ढक्याए पनि बोल्दिनन् । यसरी दुईचोटि उठाउन गएँ । ढोका ढक-ढक्याएँ, उनी न त केही बोल्छिन्, न त उठ्छिन् । पछि होटल साहूनी गएर ढक-ढक्याउँदा भने, ‘-नो थ्याङ्क यु’ सम्म भनिछे ।
त्यसपछि त अच्चमै भो ! बिहान उज्यालो हुन पाएको छैन, अर्को ठाउँ सर्ने भनी झोला बोकेर हिंँडी । झोला बोक्न सघाउन खोज्दा, तँ यही बस् म मात्रै जान्छु भनी । यो खैरेनीले तपाईंले लगाएको गुन बिर्सेर अप्ठ्यारो बाटो (लाङटाङ-गोसाईँकुण्ड पास) सकिएपछि यसरी निहुँ खोज्न नहुने भनी उपस्थित अन्य गाइडहरु र होटल साहूले भने । ‘वास्तवमा उनलाई के पुगेन ? किन अर्को होटलमा सरेकी ?’ भनी होटलवालाले मलाई प्रश्न गरे । मैले नै पनि कुनै भेऊ पाईन । जे सुकै होस् अब मलाई तिमी चाहिँंदैन फर्केर जाऊ ! पो भन्न थालिन् । हुन त गोसाईँकुण्ड आई पुगेदेखि नै उनको व्यवहारमा एक्कासी परिवर्तन हँुदै गएको थियो । त्यसैले मैले पनि ‘यो तिम्रो फाईनल निणर्य हो त ?’ भनी सोधेँ । उनले ‘हो’ भनी । त्यसपछि मैंले पनि ‘हुन्छ नि त’ भनेर फर्किने निणर्य गरेँ ।
गोसाईकुण्ड पास गर्दा बाटोमा हिँऊ बाक्लै जमेको थियो । त्यसैले उनी लड्लीन् कि ? भनेर भर्खर हिँड्न सिक्दै गरेको नानीलाई जस्तै ‘ताते-ताते !’ गरेर हिँडाएर पास गराएँ । तर, उनी बडो अचम्मकी खैरेनी थिई । जे होस् उनलाई बच्चालाई जस्तै डोहोर्याए र, हिऊँमा जोगाएर पास गराएँ । मेरो लागि त्यही ठूलो कुरो हो । किनभने, मैले आप्mनो कर्तव्य पूरा गरेँ । त्यसो त गोसाईकुण्डमा बास बसेको दिन जर्मन जोडीद्घयलाई मेरो अतिशय प्रशंसा गर्दै, ‘हि इज भेरी गुड गाइड’ भन्न चुकेकी थिईनन् । उनको अर्को नराम्रो बानी भनेको हामी बसेको होटल/लजमा सकेसम्म अरु पर्यटकहरु नआई दिए हुन्थ्यो ! भन्ने मनसाय हुन्थ्यो । जुन कुरो अक्टोबर सिजन भएकोले असंभव थियो । यसरी मेरो जीवनमा ट्रेकिङ गर्ने क्रममा पहिलोचोटि बीचबाटो बाटै फर्किनु परेको त्यो नै पहिलो हो भने सायद अन्तिम पनि त्यही हुने छ !
उनी फर्केर आएपछि अफिसमा म बारे यस्तो रिपोर्ट गरी छे ‘-जे सोध्दा पनि आई डोन्ट नो’ भन्यो ! कस्तो गाइड पठाएको ?, मैले तिरेको त्यत्रो पैसा बेकारमा खेर गयो । मलाई, मैले तिरेको सबै पैसा फिर्ता चाहियो ?!’ पछि मलाई अफिसका हाकिमले मेरो बारे यही कुरो रिपोर्ट गरे । महेशजीले पनि अरु केही नभनी मुसुमुसु हाँस्नु भयो । किनभने, म अंग्रेजी भाषामा ‘हन्ड्रेड परसेन्ट पर्पेmक्ट !’ नै नभए तापनि गए-गुज्रेको पनि थिईन/होइन । एवम् रितले ती महिाला पर्यटकले त्यसरी जे सोधे पनि ‘आई डोन्ट नो’ त झनै…तर, यस विषयमा ट्रेकिङ एजेन्सीका सञ्चालकहरुले ती खैरेनीसँगै राखेर आमने-सामने दोहोरो कुरो गर्न नदिएकोले विश्वास गर्ने आधारचाहिँ रहेन । हुन पनि दिनको १३ डलरमा बुक गरिएको रहेछ, उनलाई । धन्य … ! फेरि त्यो वेला लाङटाङ-गोसाईकुण्ड-हेलम्बु ट्रेक कम्तिमा १८ -१९ दिनको हुन्थ्यो । तापनि, मैले १५ दिनमै पूरा गर्ने सहमति गरेको थिएँं ।