इलाम-माईखोला सडक खण्डको लगानी बालुवामा पानी जस्तै

  नयाँ बुलन्द
5.1k Shares


इलाम : इलाम नगरपालिकामा पर्ने साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गस्थित माईखोला – राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएको छैन ।

डिभिजन सडक कार्यालय इलामले करोडौ रूपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनी बालुवामा पानी सरह देखिएको छ ।

बारम्बार सडक भास्सिएपछि राजदुवालीेमा एङ्करिङ प्रबिधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक मेची लोकमार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो । यसले माटो भास्सिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट रोक्ने भनिए पनि टिक्न सकेन ।

ठूलो रकम खर्चेर सडक मर्मत गरे पनि राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर कालोपत्रे सडकखण्ड लथालिङ्ग बनेको छ । सडक भास्सिएर सडकको आधाभन्दा बढी भाग नै बिग्रिँदा लोकमार्ग एकतर्फीजस्तो मात्रै भएको इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले बताए ।

यता कालोपत्रे जीर्ण हुँदा सवारी साधन दुर्घटनाको जोखिम बढेपछि सडक मर्मतका लागि पहल सुरु गरिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय,इलाम नगरपालिका र सन्चारकर्मीको टोलिले सडकको अनुगमन गरेको थियो भने अनुगमन पश्चात् इलाम नगरपालिकाको सहयोग तथा जिल्ला प्रसाशन सहित जिल्ला स्थित सुरक्षा निकायहरुको समन्वयमा सोमबार बाट सडक मर्मतको काम थालिने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन ।

सडक बिग्रेएकाले मेचीलोक मार्गमा यात्रा गर्ने यात्रुले सस्ती भोग्दै आएका छ्न । माईखोला–गोलाखर्क भञ्ज्याङ खण्डका करीब आधा दर्जन स्थानमा वर्षौंदेखि सडक भत्किएको छ । मर्मतका लागिमात्र करोडौँ रूपैयाँ खर्च भइसकेको छ । ‘रक’ एङ्करिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ । जिल्लाबाट जितेका नेता देशकै ठूलो ओहोदामा पुगे पनि इलामको एउटा सडक मर्मतसम्म गर्न नसकेको स्थानीयको गुनासो छ ।

उता सडक डिभिजन कार्यालय इलामले भने बिग्रिएको राजदुवाली–भञ्ज्याङ सडकखण्डको मर्मतमा लागेको ठेक्काअनुसार काम भएपनी सफल नभएको जानकारी दिएको छ ।

सडक जति मर्मत गरे पनि जोखिम घट्ने छाँट देखिँदैन । मर्मतका लागि राज्यको करोडौँ रूपैयाँ खर्च भए पनि भास्सिने क्रम नरोकिएपछि रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छ । २०५३ सालमा भास्सिन शुरु गरेको सडकको माईखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको हुँदा जोखिम बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार