जति धेरै उत्पादन, त्यति धेरै अनुदान

  राम योङहाङ
1.5k Shares

इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका एक किसानले रोपेको कफि । गाउँपालिकाले जति धेरै उत्पादन, त्यति धेरै अनुदानको नीति लागू गरेपछि यहाँका किसानहरु कफि खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर : राम योङहाङ/नयाँ बुलन्द

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले कृषि उपज उत्पादनमा अनुदान दिन थालेको छ । कृषि उपज उत्पादनमा वृद्धि गराउने उद्देश्यका साथ माङसेबुङले कृषकलाई सोझै अनुदान रकम दिन थालेको हो ।

माङसबुङले प्रोत्साहन कार्यक्रम अन्तरगत गाउँपालिका क्षेत्रभित्र उत्पादन हुने प्रकारका कृषि उपजमा जति धेरै उत्पादन, त्यति नै धेरै अनुदान दिन थालेको हो । ‘माङसेबुङ गाउँपालिकाको कृषि उत्पादन प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७९ (पहिलो संसोधन २०८०)’ बमोजिम विभिन्न कृषि उपजमा अनुदान प्रोत्साहन दिन थालेको हो ।

माङसेबुङले दूध, दाल, केरा, स्कूस, माल बाँस र कफि उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको हो । गाउँपालिकाले बनाएको मापदण्डका धेरै उत्पादन गर्ने  कृषकले अनुदान पनि धेरै नै पाउनेछन् ।

माङसेबुङ गाउँपालिकाबाट दैनिक १५ लिटर वा सो भन्दा धेरै दूध उत्पादन गरेका कृषकले प्रतिलिटर दुई रुपैयाँ अनुदान पाउनेछन् । १५० केजी वा सो भन्दा धेरै दाल उत्पादन गरेका कृषकले प्रतिकेजी २० रुपैयाँ पाउनेछन् ।

त्यसैगरी ७० झ्याङ वा सो भन्दा धेरै केरा रोपेका कृषकले प्रतिझ्याङ एक सय रुपैयाँ पाउनेछन् । ३० झ्याङ वा सो भन्दा बढी स्कूस रोपेका कृषकले प्रतिझ्याङ पाँच सय रुपैयाँ पाउनेछन् ।

३५ झ्याङ वा सो भन्दा धेरै माल बाँस रोपेका कृषकले प्रतिझ्याङ एक सय रुपैयाँ पाउनेछन् ।  त्यसैगरी ५० केजी वा सो भन्दा धेरै कफि उत्पादन गरेका कृषकले  प्रतिकेजी २० रुपैयाँ पाउनेछन् । माङसेबुङले चालु आर्थिक वर्षमा कृषि प्रोत्साहन कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

व्यावसायिक कृषि उपज उत्पादनमा वृद्धि गर्ने उदेश्यसाथ कृषि प्रोत्साहन कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । ‘पछिल्लो पुस्ताको युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । त्यसलाई हटाउँदै कृषि क्षेत्रमा नै व्यावसायिक बन्न प्रोत्साहन गर्न कार्यक्रम लागू गरिएको हो’ उनले भने ।

गाउँपालिकाले सम्बन्धित कृषककहाँ पुगेर नापजाँच गरेर अनुदान उपलब्ध गराउँदै आएको छ । प्रत्येक वडाको सम्बन्धित कृषककहाँ पुगेर उत्पादित कृषि उपजको नापजाँच गरेर परिमाणका आधारमा अनुदान दिने गरेको छ ।

समुन्द्र सतहबाट ५१ दशमलव ५ देखि २०२० मिटरसम्मको उचाईमा अवस्थित माङसेबुङको माथिल्लो क्षेत्रमा दूध र स्कूस उत्पादन हुने गर्दछ । तल्लो क्षेत्रमा दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ । मध्यम क्षेत्रमा भने कफि उत्पादन हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार