इलाम : इलामको सूर्योदय नगरपालिका-५ स्थित श्रीअन्तुमा पर्यटकको घुँइचो लाग्न थालेको छ । मौसम खुलेसँगै झुल्केघाम हेर्न श्रीअन्तुमा पर्यटकको घुँइचो लाग्न थालेको हो । झुल्केघामको दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको चाप बढ्न थालेको हो ।
दैनिक हजारौंको संख्यामा पर्यटकहरु श्रीअन्तु पुग्ने गरेका छन् । सामान्यतया दैनिक ५ सयको हाराहारीमा पर्यटक आउने श्रीअन्तुमा अहिले दैनिक करिब दुई हजार आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका सचिव रुद्र घिमिरेले बताए ।
श्रीअन्तुका सबै होटल, कटेज र होमस्टेहरु अग्रिम बुकिङ हुने गरेको छ । धेरैजसो विद्यालय र अन्य क्षेत्रको पनि दसैंतिहार विदा भएकाले यो बीचमा अन्तु आउने पर्यटकको संख्या उल्लेख्य छ ।
सामान्यतया असोज पहिलो सातादेखि मौसम खुलेसँगै पर्यटकको भीडभाड हुने श्रीअन्तुमा मंसिर अन्तिमसम्म झुल्केघाम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।
झुल्केघाम दृश्यावलोकनका लागि श्रीअन्तु धेरै पर्यटकको रोजाइमा पर्दछ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकहरूको पहिलो रोजाई बन्ने गरेको हो । अन्तुसम्म मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी समेत संचालनमा आउन थालेपछि पर्यटकलाई थप सहजता मिलेको छ ।
श्रीअन्तुमा वर्षेनी नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौं पर्यटक आउने गरेका छन् । झुल्केघाम दृश्यावलोकनका लागि नगरपालिकाले प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकेको छ । पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले श्रीअन्तुलाई आम्दानीको श्रोतको माध्यम समेत बनाएको छ । उसो त त्यहाँबाट प्राप्त श्रोत श्रीअन्तुकै विकासमा खर्चेको छ । टावर मर्मतसम्भार तथा पर्यटकलाई सहजताका लागि नगरपलिकाले विभिन्न भौतिक पूर्वाधार निर्माणको काम समेत गरिरहेको छ ।
हरियाली चियाबारी र सल्लाका सुरिला रुखले वरिपरिबाट घेरिएको श्रीअन्तुमा पुग्दा स्वर्गीय आनन्त प्राप्त हुने गरेको पर्यटकहरु बताउँछन् ।
झुल्केघाम श्रीअन्तुको डाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि आकर्षक देख्न सकिन्छ । टावरमा सबै पर्यटक नअट्ने भएकाले पर्यटकहरु वरिपरीबाट समेत झुल्केघामको दृश्यावलोकन गरी आनन्द लिने गर्दछन् ।
होटल र होमस्टे भरिभराउ
सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पूर्वमा परहेको श्रीअन्तुमा ५६ होमस्टे र ५ वटा होटल सञ्चालनमा छन् । अहिले होटल र होमस्टे खचाखच पर्यटकले भरिभराउ छ ।
होमस्टेमा स्थानीय स्तरमा उत्पादित अर्गानिक खानाका परिकारहरु खान पाइने भएकाले पर्यटकहरु आकर्षित हुने गर्दछन् । यसका साथै अन्तुपोखरी, गुफापातल, लेप्चाहरूको ऐतिहासिक थातथलो, नगदेबालीबाट सुधारिएको जीवनशैली जस्ता कारण पनि पर्यटकहरु बढ्दै गएका छन् ।