झन्डीडाँडा इलामको रोङ गाउँपालिका ६ रम्भ्याङस्थित एक प्रमुख र आकर्षक पर्यटकीयस्थल हो । अर्गानिक पर्यटकीयस्थलका रूपमा परिचित हुँदैगरेको झन्डीडाँडा १ हजार ३ सय ९६ मिटर उचाईमा छ । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभइ साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडो हो । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिंढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोड पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ । झण्डीडाँडा लाई गाजलेथुम्का नामले समेत चिनिन्छ ।
झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा पर्ने झन्डीडांडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । यो ठाउँ तराई र पहाड दुवै तिरबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । भारतबाटसमेत मेची खोला हुँदै यहाँ आउन सकिन्छ । हासपोखरी र ब्युटी बोर्डर दुवै पोइन्टबाट गाडीमा र पदमार्ग भएर पनि झन्डीडाँडामा आउने सुविधा छ । साइक्लिङ रोड समेत भएकाले साइकलमा समेत युवाहरू यो पदमार्गबाट आउनेगरेका छन् । चुरे क्षेत्रमा यो उचाईको डांडो बिरलै पाइनेगरेकाले पनि झन्डीडाडाको महत्व अझ बढेको छ । झन्डीमा पर्यटकले क्याम्प फायर र नाइट स्टे क्याम्प पनि गर्न थालेका छन ।
‘झन्डीडाँडा घुम्न आउने आन्तरिक पर्यटक यहाँको सौन्दर्यमा लालयित हुन्छन् । यहाँ आएर रमाएका पर्यटकको अनुभव छ, ‘नेपालीहरू विदेश घुम्न जान्छन् र ३० लाख रुपैयाँ खर्च गर्छन् । तर, आफ्नै गाउँ वा देशभित्रकै पर्यटकीयस्थल घुमेर ३ सय रुपैयाँ खर्च गर्न डराउँछन्, आनाकानी गर्छन् । जबकि, देशभित्रै झन्डीडाँडाजस्तो अत्यन्त प्रचुर सम्भावना बोकेकी सुन्दर पर्यटकीयस्थल पनि छ भन्ने चाहिँ धेरैलाई हेक्का नै छैन ।’ झन्डीडाडालाई पर्यटकले प्राकृतिक भ्यु टावरको उपमासमेत दिनेगरेका छन् ।
झन्डीडाँडा धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाडले देवी पूजा गरेको ठाउँका रूपमा झन्डीडाँडालाई मानिएको छ । रम्भ्याङमा रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए। यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ । किरातीहरूले उधौली, उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको किंबदन्ती छ । किरातीहरू वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा पनि भन्नेगरेको पाइन्छ । किरात संस्कृतिको धरोहरका रूपमा रहेको झन्डीडाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि यहाँ साकेला थान छ भने उधौली र उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ ।
झन्डीडाँडामा भ्यु पोइन्टको अवधारणा र स्थापना गर्न स्थानीय अगुवा, किरात फ्रेन्ड्स क्लब लगायतको योगदान्तु महत्वपूर्ण छ । संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ र आव ०७८/७९ मा बजेट स्थः सरेपनि भन्दण्डाडाका पर्यटकीय पूर्वाधार विकास भएको हो । रोङ गाउँपालिकाले यसको आसपासमा गुराँस रोपेको छ । हालसम्म झन्डीडांडाको प्रचारप्रसार गर्न विभिन्न समयमा कलाकारहरू विल्सनविक्रम राई (तोक्मे बुढा), मेलिना राई, विजय लामा, कविता आलेलगायत पुगेका छन् । सुटिङ, भिडियो लाइभ आदि गरिसकेका छन् । अहिले यहाँ युवा, ज्येष्ठ नागरिक, केटाकेटी सबै एकपटक पुग्ने प्रयास गरिरहेका भेटिन्छन । फेसबुकलगायत सामाजिक सञ्जालहरू हेर्दा लाग्छ कि, यो मनमोहक झन्डीडाँडा पुगेर सेल्फी नखिचे, भिडियो लाइभ नगरे र फोटो पोस्ट नगरे जीवनको रमाइलो पाटो चाहिँ अपुरो नै हुनेछ ।
झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा (राजधानी काठमाडौं भन्दा नजिक) झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर- मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । झन्डीडांडा दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।
झन्डीडाँडाबाट दृष्यावलोकन
यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्योदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्योदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । स्थानीयवासी यो क्षेत्रमा पहिलेदेखि नै सूर्योदय हेर्न जाने गरेका थिए । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । अचेल यहाँ आन्तरिक र बाह्य पर्यटकसमेत आउनेक्रम बढेको हो ।
झन्डीडाँडामा वनभोज
यो क्षेत्रमा पहिलेदेखि नै स्थानीय बसन्त र सरद ऋतुमा वनभोज (पहिले बनभात भनिन्थ्यो ) खान जाने गरेका थिए। तिहारमा देउसी खेलेको रकमले वा प्रत्येक घरबाट जनही माना चामल, तेल आदि संकलन गरी मासु किनेर लिएर जाने गरेका थिए । बनभोजमा स्थानीय सांस्कृतिक लोक दोहोरी गीतहरु समेत गाइन्थ्यो । जसले, गाउँ र छरछिमेकमा सामाजिक सद्भाव र भाइचारा विकासमा योगदान गरेको थियो । आजभोलि तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरू दिनभरिको गर्मी छल्न र वनभोज खान ट्र्याक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । कच्ची बाटो भएपनि यहाँ आउन र रमाइला गर्न उनीहरू उत्साहित देखिन्छन् । सडक, पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने यो उम अझै बढ्ने निश्चित छ ।
झन्डीडाँडामा साहसिक खेल सम्भावना
झन्डीडाँडा आसपासमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । २०७८ सालमै यहा कुट प्याराग्लाइडिङ परीक्षण भएको थियो। जसको पहलको नेतृत्व गर्ने तत्कालीन वडाध्यक्ष हाल गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास), वर्तमान वडाध्यक्ष सत्यम राई चौरासे, रम्भ्याङ सामुदायिक वन अध्यक्ष आशिष प्रधानलगायत स्थानीय अगुवा यसको व्यावसायिकताका लागि जुटिरहेका छन् । जसका लागि, पालिका, वडा, प्याराग्लाइडिङ संघ अध्यक्ष प्रकाश पोखरेल, प्याराग्लाइडिङ संघ प्रदेश १ अध्यक्ष भूपाल चाम्लिङ, जिपलाइन व्यवसायी केदार थापालगायतसँग समन्वय र छलफल भइरहेको छ ।
प्याराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मका पर्यटकसमेत यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ । यो प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड़ने छ । मिनी माउन्टेन आसपास प्याराग्लाइडिङ ल्यान्डिङ गराउनसके मिनी माउन्टेनलगायत त्यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर हुनेछ । जसबाट स्थानीय लाभान्वित हुन सक्ने देखिन्छ । झन्डीडाँडाबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन भर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारीको होटल मेची क्राउन पुगेर बास बस्नसमेत पायक पर्छ पर्यटकलाई ।
करसोङ पदमार्ग भएर यात्रा गर्ने, रम्भ्याइस्थित होमस्टेमा बस्ने, झन्डीडाँडामा इभनिङ भ्युसँगै शीतल मनोरन्जन लिने, भोलिपल्ट बिहान झन्डीडाँडाबाट सूर्योदय दृश्यावलोकन गरी प्याराग्लाइडिङबाटै झापा प्रस्थान गर्ने प्याकेज राम्रो बन्न सक्छ ।
स्थानीय युवा अगुवा निमाकुमार राई, डम्बरबहादुर राईलगायतको नेतृत्वमा झन्डीडाँडामा २०५४/०५५ सालतिर खेलमैदान निर्माण सुरु गरिएको थियो । त्यहीबेलादेखि नियमित फुटबल प्रतियोगिता हुँदैआएको यो स्थानमा अचेल युवा पुस्ताले फुटबललगायत खेलकुद आयोजनालाई निरन्तरता दिएका छन् । एकान्त, शान्त यो स्थानमा फुटबललगायत खेल खेल्न जाने निकै उत्कृष्ट ठाउँ मान्नेगरेका गरेका छन् खेलप्रेमीले ।
कसरी पुग्ने झन्डीडाँडा ?
– मेची राजमार्गस्थित हासपोखरी खण्डबाट करसोड पदमार्ग हुँदै करिब ९ किमी । – मेची राजमार्गकै हर्कटे बजारबाट गाडीको कच्ची सडक १० किमी ।
– झापा काँकडभिट्टाबाट १७ किमी उत्तर ।
– झापा धुलावारीको होटल मेची काउनबाट २८ किमी ।
– भद्रपुर विमानस्थलबाट ४५ किमी। – भारत कोलकाताबाट बेहामपुर-मालदा, किसनगञ्ज, झापा काँकडभिट्टा हुँदै ६ सय २ किमी ।
– भारत बागडुग्रा विमानस्थलबाट ४३ किमी ।
झन्डीडाँडामा पर्यटकलाई खाने बस्ने व्यवस्था
– दशरथ रिजालको घरमा रम्भ्याङ होमस्टे (सम्पर्क ९८१५९२४५२९) ।
– विशाल साम्पाङको घरमा सरिता होमस्टे ( सम्पर्क ९८४०९९२८३७ / ९८१७०७५०८५) । – प्रजुन राईको घरमा झन्डीडाँडा होमस्टे ( सम्पर्क ९८६१७४७२८३ / ९८४९८२२६८७) ।
– होम स्टेमा सादा खानाको १५०/-
– एउटा कोठामा एक रात सुतेको ५००/-
घरबास (होमस्टे)
झण्डीडाँडामा आउने पर्यटकलाई लक्षित गरि रम्भ्याङमा पनि होम स्टे विस्तार गरी पर्यटकलाई खाने- बस्ने व्यवस्था मिलाइएको छ । झन्डीडाँडा आउने पर्यटकका लागि दशरथ रिजालको घरमा रम्भ्याङ होमस्टे, विशाल साम्पाङको घरमा सरिता होमस्टे र प्रजुन राईको घरमा झन्डीडाँडा होमस्टेलगायत सञ्चालनमा छन् । रम्भ्याङमा आउने पर्यटकलाई होम स्टेमा सादा खानाको डेढ सय रुपैयाँ लाग्छ । एउटा कोठामा एक रात सुतेको ५ सय रुपैयाँ तिर्नुपर्छ । अहिले यहाँका होम स्टेमा पर्यटक आइरहेका छन् ।
होम स्टेका कारण स्थानीयको आम्दानी बढ्न थालेको छ । यहाँसम्म आउने पर्यटकले गर्ने खर्च सो स्थानीय होम स्टे व्यवसायी र किसानको हातमा पुग्ने गरेको छ । त्यतिमात्र होइन, गाउँमा उत्पादन भएको सिमी, मुला, इस्कुस, सागलगायत तरकारी पनि यहाँ आइपुग्ने पर्यटकले किनेर लैजान थालेका छन् । यसका साथै स्थानीय लोपोन्मुख लेप्चासहित राई, नेवार, तामाङ विभिन्न जातजातिका सांस्कृतिक परम्परा संरक्षणमा पर्यटककै माध्यमबाट सहयोग पुग्ने गरेको छ । यहाँ आउने पर्यटकलाई स्थानीय जातजातिले आ-आफ्ना सांस्कृतिक नाच र प्रस्तुति देखाउने गरेका छन् ।
झण्डी डाँडाको काखमा धजे भञ्ज्याङ
रोङ-६ मा पर्ने झण्डी डाँडाको फेदमा अवस्थित धजे भञ्ज्याङ महत्वपूर्ण र ऐतिहासिक ठाउँ हो । यो ठाउँ पञ्चायतकालमा इलाम झापा आउजाउ गर्ने नाका वा गौडा थियो। धजेको सौन्दर्य पनि पर्यटक लोभ्याउने खालको छ । यहाँ अढाई दशकअघिसम्म ठूलो मेलासमेत लाग्नेगरेको थियो । गाउँको कृषिउपज विक्री र विनिमय हुने गरेको थियो । उँधौली, उभौली, चैतेदसैंलगायत अवसरमा यहाँ ४ देखि ५ दिनसम्म पनि मेला लाग्नेगरेको थियो । झन्डीडाँडा र रमितेडाँडाजस्ता पर्यटकीयस्थल यसको नजिकै छन् । अर्को महत्वपूर्ण क्षेत्र लामागाउँ (जहाँ विशाल गुम्बा बन्दै छ) पनि नजिकै छ । यहाँको रमितेडाँडामा रहेको गुम्बामा दर्शन गर्न आउनेहरू धजेकै बाटो भएर झन्डीडाँडामा पुग्न सक्छन् ।
धजे भञ्ज्याङमा विश्रामका लागि बर-पीपल र चौतारो पनि छ । बटुवा र घाँस दाउरा गर्नेहरू हावामा सुस्ताउँदै यहाँ आराम गर्छन् । बर-पीपल चौतारामा बसेर दक्षिणतिर हेर्दा तराईका समथर फाँटहरू र उत्तरतर्फ कञ्चनजंघा हिमाललगायत हिमशृंखला, अन्तुडाँडा र कन्यामलगायत विभिन्न स्थान देखिन्छन् । धजे भञ्ज्याङ आसपासमा रक क्लाइम्बिङको सम्भावना पहिल्याइँदै छ । धजे र झन्डीबीचमा जिपलाइनको पनि अध्ययन गरिदैछ । यहाँ लिङ्गे पिङ हालेर त्यसैलाई व्यावसायिक बनाउने सम्भावना पनि उत्तिकै छ ।
धजे भञ्ज्याङमा यातायात सुविधा, बदलिंदो जीवनशैली, पर्यटन विकासको गतिविधि र सम्भावनालाई मध्यनजर गरेर पुरानो धजे मेलालाई पुनर्स्थापना गर्न स्थानिय तहमा गृहकार्य सुरु भएको छ । स्थानीयका लागि फुकोफालो सिजन वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा धजे र झन्डीडाँडाको पर्यटनसमेतलाई समेटेर रम्भ्याङ धजे मेला तथा झन्डी पर्यटन महोत्सव आयोजना गर्नु उपयुक्त हुने स्थानीय अगुवाको भनाइ छ ।
थप योजना
‘झन्डीडाँडा क्षेत्रमा रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि प्रशस्त सम्भावना छ । आउने पर्यटकलाई त्यहाको कृषिसँग जोड्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छँदैछ । झापाबाट सबैभन्दा नजिकै रहेको लालीगुराँसको वन पनि झण्डी डाँडा मै बनाउने लक्ष्य गाउँपालिकाको छ । यी र यस्ता पर्यटनका लागि अग्र र पृष्ठ सम्बन्ध भएका कृषि, रोजगारी, मनोरञ्जन जस्ता पक्षलाई थप प्रवर्धन गर्न जरुरी छ । झापा, कन्याम, भारतीय सिमावर्ती नाकाहरु ? श्रीअन्तु लगायत क्षेत्रबाट सहज आवत जावतको लागि पक्की सडक लगायत कनेक्टिभिटि र विद्युत पिउनेपानी, यातायात सुविधा लगायत आधारभुत पुर्वाधार यथेष्ठ पुर्याउनु पुर्वशर्त बनेको छ ।
– तयारीकर्ता, भीम चापागाईं