संघीयता प्रर्वद्धनमा इलाम नगरका जनप्रतिनिधि र पत्रकारको चासो

  नयाँ बुलन्द
294 Shares

इलाम : इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले पत्रकारले सत्य कुरा लेख्नका लागि नडराउन अनुरोध गरेकी छन् । उनले सत्य र तथ्यमा रहेर पत्रकारले आफ्नो सुसुचित गराउनका लागि इलाम नगरपालिका तयार रहेको बताइन् ।

प्रेस सेन्टर इलामले शनिबार आयोजनामा गरेको संघीयता प्रर्वद्धनमा पत्रकारिता र स्थानीय तहको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै समाजमा भएका कमी कमजोरीलाई संचारको माध्यमबाट सजग गराएको बताइन् ।

उनले केही दिन अघि रासायनिक मलको बिषयमा पत्रकारले स्थानीय सरकार र प्रशासानलाई सजग गराएको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले १० वटा सहकारीहरुलाई नगरले सो बिषयमा छलफलको लागि बोलाएको समेत बताइन् । इलामका पत्रकार र स्थानीय सरकार मिलेर इलाम नगरपालिकालाई समृद्ध बनाउन सहकार्यका लागि तयार रहेको बताइन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरेले स्थानीय सरकारले संघलाई मात्र नताकेर आफ्नो आन्तरिक आम्दानी बढाउन लाग्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा स्थानीय तह शसर्त अनुदान पर्खिएर कोठे योजना बनाउन लागेको बताए । उनले पत्रकार सरकारको स्थायी प्रतिपक्षी भएपनि नकारात्मक रुपमा मात्र नभएर भएका सकारात्मक कामलाई समेत समाचारको रुपमा दिनुपर्ने बताए ।

कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश समितिका संस्थापक अध्यक्ष एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गणेश लम्सालले संघीयता प्रर्वद्धनमा पत्रकारको भुमिका बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सरकारले गरेको राम्रा कामहरुको उचित प्रचारपसार गर्न कन्जुस्याई गर्न नहुने बताए । उनले स्थानीय सरकारले भेटघाट, अनुगमन मार्फत समस्या उजागर गर्न नागरिकलाई पनि पत्रकारितामा बढि भन्दा बढि सहभागी गराउनुपर्ने बताए ।

पालिकाले योजना तर्जुमा, कार्यान्वयन, अनुगमन मूल्यांकन र उपभोगमा पत्रकारहरुलाई पहुँच दिनुपर्ने बताए । सुचनाको हक कार्यान्वयनका लागि नागरिकहरुलाई जिम्मेवार बनाउन स्थानीय सरकार अघि बढ्नुपर्ने उनले बताए । स्थानीय सरकारहरुले संचार नीति बनाउनु तर्फ लाग्न सुझाव दिए ।

इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले अबको पत्रकारिता विकास पत्रकारिता तर्फ जानुपर्ने बताए । उनले स्थानीय सरकारमा भएका कमजोरी मात्र नभएर विकासका क्षेत्रमा गरेको राम्रा कार्यहरुलाई समेत मिडियाले उजागर गर्नुपर्ने बताए । आर्थिक बर्षमा इलाम नगरपालिकाले १ अर्बं २२ करोड खर्च गरेको बताए । उनले देशभरका ७५३ मध्ये इलाम नगरपालिकाले सवैभन्दा पहिलो लम्पी स्किन रोग लागेका पशु बचाउन जोर्डनबाट खोप ल्याएको बताए ।

दुलालले संघीय सरकारले ल्याएको १० लाख डोजको सवत्र्र चर्चा हुँदा इलाम नगरपालिकाले ८ हजार ५ सय भन्दा बढि पशुमा लगाएको खोपको बारेमा केन्द्रिय मिडियाहरुको चासो नदेखिएको गुनासो गरे । इलाम नगरपालिकाले हालसम्म २८३ ऐन, कानुन नियमावली बनाएर राजपत्रमा प्रकाशन गरेको जानकारी दिए । उनले स्थानीय तहको नागरिक र आवाजविहिन, कृषि, विकास निर्माण, महिला, सिमान्तकृतहरुको आवाज पत्रकारिता क्षेत्रले बोकेको समेत बताए ।

हालसम्म इलाम नगरपालिकाले संचार नीति नबनाएपनि आगामी आर्थिक बर्षमा संचार नीतिलाई पुर्णता दिन छलफल अघि बढाएको बताए । उनले प्रदेश र केन्द्रसंग नवाझिने गरी यसै बर्ष इलाम नगरपालिकाले पेशागत हकहितलाई संरक्षण गर्ने गरी संचार नीति ल्याउने बताए । संघीयता ल्याउनका लागि भुमिका नेका, एमाले माओवादी पार्टी खराब नभएपनि नेतृत्वको कमजोरीका कारण संघीयता विरोधि गतिविधि भइरहेको बताए ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पछिल्लो समय पत्रकारिता क्षेत्रले साख गुमाउँदै गएको बताए । उनले लोकतन्त्र र संघीयता ल्याउन भुमिका खेलेका पत्रकारहरुले प्रतिपक्षीको रुपमा भुमिका खेल्न नसकेको बताए । उनले राजनीतिक दलका कार्यकर्ताहरु सत्तामा पुगेपछि शासक बन्ने प्रवृति देखिएकाले त्यसको सुधारका लागि पत्रकारहरुको कलम चल्नुपर्ने बताए ।

प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाईले लोकतन्त्र र गणतन्त्र स्थापित गर्नका लागि संचार जगतले खेलको भुमिकालाई विसर्न नहुने बताए । उनले स्थानीय सरकारमा भएका बेथितीको बारेमा संचारमाध्यम र पत्रकारले पहरेदारको भुमिका निर्वाह गरिरहेको बताए । चापागाईले संचार नीति निर्माण गर्नुपुर्व पत्रकारहरुसंग समेत छलफल गरेर अघि बढ्न सुझाव दिए ।

उनले प्रेसमैत्री नीतिका लागि सहकार्य आवश्यक रहेको बताए । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सहसचिव सृजना श्रेष्ठले महिलाहरुको पत्रकारिता क्षेत्रमा आर्कषण घट्दै गएको बताइन् । उनले पत्रकारिता क्षेत्रमा महिलाहरुलाई आकर्षणको कार्यक्रम आवश्यक देखिएको बताइन् ।

प्रेस सेन्टर इलामको अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको थियो । प्रेस सेन्टर इलामका उपाध्यक्ष लिला लिम्बुले स्वागत गरेको कार्यक्रम संचालन सचिव नमीन ढकालले गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार