इलाम : प्रदेशको नाम ‘कोशी’ खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले विहीबार ‘कोशी’ लेखिएको दुई प्रादेशिक कार्यालयको बोर्ड भत्काइदिएका छन् ।
आन्दोलनकारीले जिल्ला खेदकुल विकास समिति इलाम र शहरी विकास तथा भवन कार्यालय इलामको बोर्ड भत्काइदिएका हुन् ।
‘कोशी’ प्रदेश लेखिएको भन्दै आन्दोलनकारीले कार्यालयको बोर्ड भत्काई दिएका हुन् ।
आन्दोलनकारीहरुले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएर विरोध गरेका छन् ।
सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका पूर्वप्रधानमन्त्री ओलीसहित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र प्रदेशसभा सदस्य रामबहादुर मगर (राना) आन्दोलनकारीले कालो झण्डा देखाएका छन् ।
कार्यक्रमस्थलतर्फ लागेका तीनैजना नेतालाई सयौंको संख्यामा रहेका आन्दोलनकारीले इलाम बजारमा कालो झण्डा प्रदर्शन गर्दै उनीहरुविरुद्ध चर्को नाराबाजी गरेका थिए । पूर्वप्रधामन्त्री ओलीसहितका नेताहरु कडा सुरक्षा व्यवस्थाबीच कार्यक्रमस्थल प्रवेश गरेपछि आन्दोलनकारीले कार्यक्रमस्थ बाहिर समेत प्रदर्शन गरेका थिए ।
आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर’, ‘केपी ओली मुर्दावाद’ ‘राम राना मुर्दावाद’ जस्ता नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका थिए ।