माङसेबुङ १ का टोल विकास संस्थालाई क्षमता विकास तालिम, विकास प्रक्रियामा सक्रिय हुने प्रतिवद्धता

  नयाँ बुलन्द
119 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयले आफ्नो वडामा गठित टोल विकास संस्थालाई क्षमता विकास तालिम दिएको छ ।

टोल विकास संस्थालाई सक्रिय बनाई प्रभावकारी रुपमा परिचालन गर्न एवम् जिम्मेवार र जवाफदेयी बनाउने उदेश्यले सोमबार र मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरुलाई क्षमता विकास तालिम दिएको हो ।

तालिममा वडामा गठित १३ वटा टोल विकास संस्थाका ४३ जना पदाधिकारीहरुको सहभागिता थियो ।

वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन सहजीकरणमा तालिम संचालन भएको हो । तालिममा टोल विकास संस्था, टोल विकास संस्था गठन विधि, टोल विकास संस्थाको काम कर्तव्य र अधिकार, बैंठक व्यवस्थापन एवम् संचालन, माइन्युट लेखन, कार्यक्रम संचालनलगायतका विषयमा छलफल भएको थियो ।

तालिमका सहभागीहरुलाई माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान र पत्रकार राम योङहाङले सहजीकरण गरेका थिए ।

तालिमका सहभागीहरुले स्थानीय विकास प्रक्रियामा टोलस्तरबाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सृजना गर्न क्रियाशील भएर काम गर्ने प्रतवद्धता जनाए ।

तालिम समापनको अवसरमा प्रतिक्रिया मन्तव्यमा उनीहरुले त्यस्तो बताएका हुन् । गजुरमुखीधाम टोल विकास संस्थाका अध्यक्ष घनश्याम अधिकारीले टोल विकास संस्थाले गर्नुपर्ने काम धेरै भएपनि थाहा नभएकाले यसअघि काम गर्न नसकिएको बताए । ‘टोल विकास संस्थाले गर्नुपर्ने काम धेरै रहेछ । तालिमबाट थाहा पाइयो । अब क्रियाशील भएर काम गर्नेछौं’ उनले भने ।

नावालुङ टोल विकास संस्थाका अध्यक्ष बसन्त योङहाङले टोल विकास संस्थाले योजना संचालन गर्ने अधिकार समेत रहेकाले ससाना योजना संचालनका लागि उपभोक्ता समिति गठन गरिरहन नपर्ने बताए ।  ‘टोल विकास संस्थालै आफैं योजना संचालन गर्न पाउने अधिकार रहेछ’ उनले भने, ‘ससाना योजनाहरु संचालन गर्न उपभोक्ता समिति गठन गरिरहन नपर्ने रहेछ । अब हामी त्यसरी नै काम गर्नेछौं ।’

समावेशी टोल विकास संस्थाकी सचिव शोभा बरालले टोलमा विकास निर्माणसँगै विभिन्न अभियानहरुमा वडा समितिलाई सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

माङसेबुङ गाउँपालिकाले टोल विकास संस्था (गठन तथा व्यवस्थापन) कार्यविधि, २०७७ स्वीकृत गरी टोल विकास संस्था विभिन्न २८ वट काम, कर्तव्य र अधिकार दिएको छ । त्यसैगरी माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७४ स्वीकृत गरी उपभोक्ता समितिबाट गरिने कार्य स्थानीय उपभोक्ताहरुको आम भेलाबाट निर्णय गराई टोल विकास संस्थाबाट गर्न/गराउन सकिने व्यवस्था गरेको छ ।

माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य समेत रहेको डिकमाया लुहागुन (आङ्देम्बे) को अध्यक्षतामा भएको समापन कार्यक्रममा टोल विकास संस्थाहरुलाई सूचिकृत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन वडा सचिव टीकामाया नेपालले गरेकी थिइन् ।

तालिमका लागि माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को बजेट तथा कार्यक्रममा वडा सिलिङतर्फ क्षमता विकास तालिम शिर्षकमा वडाले बजेट विनियोजन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार