इलाममा मुख्यमन्त्री कार्की र प्रदेशसभा सदस्य रानाको पुत्ला दहन

इलाम : प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभा सदस्य रामबहादुर मागर (राना) को पुत्ला दहन गरेका छन् ।

प्रदेशको नाम ‘कोशी’ खारेज गरी पुन: नामाङ्कनको माग गर्दै आन्दोलन संघर्ष समितिले शुक्रबार साँझ इलाम चोकबजारमा कार्की र रानाको पुत्ला दहन गरेका हुन् । उनीहरुले कार्की र रानाविरुद्ध नाराबाजी समेत गरे ।

आन्दोलनकारीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा पदम लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेका छन् ।

लाजेहाङको उपचारकै क्रममा बिहीबार राति निधन भएको थियो । त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

लाजेहाङको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न उनीहरुले माग गरेका छन् ।

समितिले संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने भएको छ । लाजेहाङको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने पनि निर्णय गरेको छ । यस्तै, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार