पाँचथर : ‘कोशी’ प्रदेशको नामाकरणको विरोधमा आन्दोलनकारीले आइतबार विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिले सुनसरीको इटहरी, पाँचथरको फिदिम, इलामको माङसेबुङलगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् ।
संघर्ष समितिले इटहरी बजारमा कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान-किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए । पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए ।
उता संघर्ष समितिले पाँचथरको फिदिमस्थित लिम्बुवान गेट अगाडि कोणसभा गरी ‘कोशी प्रदेश’ नामाङ्कनको बिरोध गरेको हो । कोण सभामा किरात याक्थुङ चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङले जनप्रतिनिधिहरुले जनताको भावना विपरीत भूमिको अस्तित्व माथि बलत्कार गरेर कोशी नाम लिएर आएकाले सच्चिन आग्रह गर्दै सभ्यतामाथि गरेको उधाङगो प्रहार सहेर बस्न नसकिने बताए । उनले नसच्चिए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिका प्रदेश संयोजक मधुराज केरुङ, जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँचथरका अध्यक्ष लक्ष्मण लाओती, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिन्जी शेर्पा, साँस्कृतिक पुनर्जागरण अभियानका सचिव कमलराज नेम्बाङले सम्बोधन गरेका थिए ।
वक्ताहरुले ऐतिहासिक पृष्ठभूमी, सभ्यता र पहिचानको आधारमा यो प्रदेश नाम लिम्बुवान किरात नामाङ्कन गर्नुको बिकल्प नभएको बताउँदै प्रदेशसभाबाट नामाङ्कन गरिएको ‘कोशी प्रदेश’ लाई खारेज गरी लिम्बुवान किरात राख्न माग गरेका थिए ।
किरात राई यायोक्खा पाँचथरका अध्यक्ष गणेश साम्पाङले सञ्चालन गरेको कार्यक्रम लिम्बुवान किरात संयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवाश तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस्तै आन्दोलनकारीले माङसेबुङ गाउँपालिकाका दुईवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले आइतबार वडा नम्बर ३ र ५ को वडाकार्यालयमा तालाबन्दी गरेको स्थानीय पत्रकार सुमन लावतीले जानकारी दिएका छन् । वडा नम्बर ३ को सम्पर्क कार्यालय भञ्जाङमा तालाबन्दी भएको हो ।
‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीहरुको समूहले विभिन्न विभिन्न स्थानहरुमा कालो झण्डा गाडेका छन् ।वडा नम्बर ५ को बुधबारेस्थित यलम्बर चोक र वडा नम्बर ३ को माथिल्लो भञ्जाङमा कोणसभा गरेको प्रदर्शनकारीहरुले फाल्गुनन्द राजमार्गमा १ घण्टा चक्काजाम समेत गरेका छन् ।
‘प्रदर्शनकारीहरुले पहिचानवादी एक हौं’, ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद’, ‘पहिचान विनाको कोशी प्रदेश मान्दैनौं’,’कोशी प्रदेश जान्दैनौं’ लगायतका नारा लगाएका थिए ।
समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढंगले कोशी प्रदेश नामाकरण भएकोले माग पूरा नभएसम्म कुनै पनि कार्यालय नखोलिने चेताबनी दिएका छन् ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले बुधबारदेखि नै ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदेश नामाकरणको विषयमा सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी प्रदेशसभामा सुटुक्क विषय प्रवेश गराइएको उनीहरुको आरोप छ ।
पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन् । आन्दोलनमा नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताहरुले समेत विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका छन् ।
बुधबार प्रदेश सभाको बैठकमा प्रदेश नामाकरणको लागि भएको मतदानमा दुई तिहाई बहुमतले ‘कोशी’ प्रदेश पारिच गरेको थियो । प्रदेशको नाम ‘कोशी’ पारित गरेसँगै खारेज गरी पहिचानसहितको ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिले आन्दोलन सुरु गरेको थियो ।