माघ १ देखि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने

  नयाँ बुलन्द  2078 पटक हेरिएको

इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघ १ गतेदेखि साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो ।

उडानका लागि चाँडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिए । ‘माघ १ देखि सातामा एक उडान भर्नेे सहमति भएको छ, बार र समयको निश्चित आज नै हुँदैछ’ नगर प्रमुख थापाले भने ।

उक्त विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेको थियो । इलाम नगरपालिकाको पहलमा फेरि नेपाल वायुसेवा निगमले उडान सुचारु गर्ने भएको छ ।

इलाममा पाँचथर, ताप्लेजुङसहित भारतको दार्जिलिङसम्मका यात्रुले सेवा पाउने भएका कारण निगमलाई नियमित उडान गर्न आह्वान गरिएको थापाले बताए ।

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । इलामबाट करिब १ घण्टाको उडान अवधिमा काठमाडौं पुगिन्छ । निगमले भाडा दर आजै निर्धारण गर्नेछ  ।

फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्वीनटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार