इलाम : आदिवासी लिम्बू समुदायले आफ्नो राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले लिम्बू समुदायले चासोक तङनाम हर्षोल्लासका मनाईरहेका हुन् । किरात याक्थुङ चुम्लुङले विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी चासोक तङनाम मनाईरहेका छन् ।
यसै क्रममा शनिबार किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ५ वडा शाखाले शुभकामना आदानप्रदान कार्यक्रम र साँस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाएको छ ।
विहान पूजापाठ र गालीश्राप वहन्ती गरिएको थियो भने दिउँसो शुभकामना आदानप्रदान, सम्मान कार्यक्रम र या:लाङ (धान नाच) कार्यक्रम संचालन भएको थियो ।
किरात याक्थुङ चुम्लुङ वडा शाखाका अध्यक्ष सुमन लिम्बूको अध्यक्षता र संघीय परिषद सदस्य सन्तोष नेम्बाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, इलाम नगरपालिका वडा नम्बर ५ का अध्यक्ष काजी श्रेष्ठ, सल्लाहकार मनराज जवेगूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अवसरमा चुम्लुङ हिम निर्माणका लागि निशुल्क जग्गादाता खड्गबहादुर लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । लिम्बूले आफ्ना बाबु स्वर्गीय नरेन्द्र लिम्बूको स्मृतिमा ४ आना जग्गा निशुल्क रुपमा किरात याक्थुङ चुम्लुङलाई उपलब्ध गराएका थिए । सोही जग्गामा चुम्लुङहिम निर्माण भएको छ । सोही अवसरमा जग्गादाताको विवरण उल्लेख भएको शिलालेख समेत उद्घाटन भएको छ । प्रमुख अतिथि नेम्बाङले शिलालेखको उद्घान गरे ।
त्यस्तै सोही कार्यक्रममा गएको वलिहाङ तङनाममा नाम्लिङगेक लारिङगेक कार्यक्रममा सहयोग गर्ने दर्जन बढी व्यक्तिहरुलाई धन्यवादपत्र प्रदान गरिएको थियो । कार्यक्रममा लिम्बू जातिको साँस्कृतिक नाच च्याब्रुङ नाच (केलाङ) समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय परिषद सदस्य विष्णु तुम्बापो, इलाम नगर अध्यक्ष राम लिङदम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष राम योङहाङ, पूर्वेली जीप तथा ट्याक्सी यातायात सेवाका अध्यक्ष गृष्म सुब्बालगायत समेतको उपस्थिती थियो ।
किरात याक्थुङ चुम्लुङ वडा शाखा उपाध्यक्ष पूर्ण फत्रले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सरोज जवेगू र तिलक जवेगूले गरेका थिए ।