पाँचथरः जन्म दिन मनाउने अहिले व्यापक चलन आएको छ । अधिकाँश सामाजिक संजाल प्रयोग कर्ता र युवा पिंडीहरुको त फेसनै जन्म दिन मनाउने भइसकेको छ । फोटामा लाइक,कमेन्ट र शेयरको हाउभाउ देखाउन मात्रै भएपनि तामझाका साथ सामाजिक संजालमा तस्वीर हालेर आलोपालो शुभकामना दिनेहरु बढेका छन् ।
तर,फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदिन निवासी आसबहादुर नेम्बाङ (आसपाल) ले भने फरक किसिमको सन्देश दिने गरि विहिबार आफ्नो ९० औं जन्मस्मृति मनाएका छन् । सामाजिक सेवा र देश विदेशको अनुभव हाँसिल गरेका नेम्बाङले २०७९ साल कार्तिक १३ गते ८९ वर्ष पूरा गरि ९० वर्षमा प्रवेश गरेको आफ्नो जन्मोत्सवको अवसरमा स्व. बुबाआमा,सासु र जेठी छोरीको नाममा आफ्नै जमीनमा बाटो छेउ करीब ५ लाख खर्च गरेर निर्माण गरेको धर्मशाला उद्घाटन गरे । यस अवसरमा आफ्ना समकालीन ६५ जना बुढापाकाहरुलाई बर्की,मफलर र नगद रुपैंया प्रदान गर्दै मिष्ठान भोजन गराए । उक्त कार्यक्रममा पालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङ,वडाध्यक्ष दलबहादुर नेम्बाङ, जनप्रतिनिधिहरु,समाजसेवी,बद्धिजिवी र बुढापाकाहरुको उल्लेख्य उपस्थिति थियो ।
उनी ९० वर्षको उमेरसम्म पनि युवा अवस्थाको जोस जाँगर सरह देखिने स्वस्थ जीवनले धेरैलाई आत्मबल बढाएको छ । उनले आफ्नो जीवनमा गरेका सामाजिक कामको प्रशंसा र कदर गर्दै नैयोत मण्डली पुरानो पञ्चमी इलाम/पाँचथर र नामसामी केसममि केलाङले उनलाई सम्मान गरेको छ ।
१५ वर्ष प्रधानपञ्च र १८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेका आसबहादुर (आसपाल) को हुन् ?
१९९० साल कार्तिक १३ गते पाँचथरको साविक चिलिङ्दिन गाविस वडा नम्बर १ निवासी बुबा छत्रश्वर नेम्बाङ र माता पद्मी फियाक नेम्बाङका जेठा छोरा हुन् । उनका तीन छोरा जेठा राजेन्द्र कुमार,चन्द्र कुमार र पृथ्वी नारायण साथै छ जना छोरी स्व.खेम कुमारी नेम्बाङ,याम कुमारी नेम्बाङ लावती,मीना कुमारी नेम्बाङ बेघा,इन्द्र कुमारी नेम्बाङ खेवा,पार्वता नेम्बाङ चेम्जोङ र शकुन्तला नेम्बाङ आङ्देम्बे छन् । २०११ सालमा ब्रिटिश आर्मी भर्ति भई १८ वर्ष सेवा पुरा गरेर २०२९ साल श्रावण २ गते रिटायर पछि नेपालमै बसेर स्वदेशमा समाज सेवामा जुटेका नेम्बाङ तत्कालीन चिलिङदिन गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित र चिलिङदिन गाउँविकास समितिको अध्यक्ष बनेर १५ वर्ष निरन्तर नेतृत्व गर्दै चिलिङदिनन बासी जनताको अभिभावकत्व निर्वाह गरे । उनले २०२९ सालदेखि २०४४ सालसम्म स्थानीय सिद्धेश्वरी विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद सम्हाले । नेम्बाङ पाँचथर जिल्ला भूतपूर्व शैनिक संगठनको उपाध्यक्ष,इलाम र पाँचथरको सिमानामा रहेको पुरानो पञ्चमी बजार स्थापनामा प्रमुख भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा परिचित छन् साथै राँके-रवि सडक निर्माणमा पनि उनको योगदान उतिकै रहेको स्थानीय बुढापाका बताउँछन् ।
ब्रिटिश गोरखा सेनाको गल्लावाल (आसपाल बाजे) भनेर प्रायः धेरैले चिन्ने गरेका छन् । हजारौ पीडित तथा गाउँघरका दुःखी परिवारका युवाहरुलाई सेनामा भर्ति गराएर उनीहरुको भविश्य उज्जवल बनाएकोमा सवैले वहाँलाई सम्मान गर्ने गरेका छन् । उनले शैक्षिक क्षेत्र र धार्मिक स्थलका लागि विभिन्न ठाउँमा भुमिदान गरेका छन् । उनले फाल्गुनन्दको चिलिङ्दिनमा र झापाको शिवसताक्षीस्थित धरमपुरमा विद्यालयको लागि जग्गा,माङ्सेबुङको लारुम्बाको धार्मिकस्थललाई जग्गा प्रदान गरेका छन् । साथै त्यस क्षेत्रमा बसाई सरि किराँत धर्मको आजीवन सदस्य भइ विभिन्न काममा सकृय ढंगले जिम्मेवार र सेवा गर्दै पाटीपौवा,फलैंचा, धर्मसाला,चउतारा निर्माणमा विशेष योगदान गरे । धार्मिक सहिषणुता कायम गर्दै पुरानो पञ्चमी र घुर्बिसे पञ्चमी बीचको सिद्धदेवी पुधामलुङमा फलैचाको निर्माण र देवस्थलमा त्रिशूल तथा घण्टी राखे । धार्मिक स्थलको आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्याएका समाजसेवी नेम्बाङ किराँत धर्म तथा साहित्य उत्थान संघको आजीवन सदस्य भएका उनी २०७४ सालदेखि फाल्गुनन्द ४ स्थित चिलिङ्दिनमा स्थापित तेगेङजना नाम्साम्बे केसाम्बे माङ्हिमको संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । हाल उनका केही परिवारका सदस्यहरु बेलायतमा छन् । उनका साथमा पल्टन गएका धेरै साथीहरु उतै पलायन भएका छन् । उनी भने आफ्नो लामो समय विदेशमा विताए पनि नेपाली जन्म भुमीप्रतिको मायालाई बृद्ध अवस्थासम्म मुटुमा राख्ने एक उदाहरणीय व्यक्ति हुन् ।