इलाम : फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरु सडक मर्मतमा निस्किएका छन् ।
संविधान दिवसको अवसरमा फाकफोकथुम गाउँपालिका वडा नं. ३ को फाकफोक खोलादेखि गाउँपालिका सेवाकेन्द्र जोड्ने सडक मर्मतका लागि अध्यक्ष खनालको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरु सडक मर्मतमा निस्किएका हुन् ।
वर्षातले क्षतविक्षत भएको सडक मर्मतका लागि अध्यक्ष खनाल, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, वडा नं. ३ का वडाअध्यक्ष दिपेन्द्र थेगिम, लेखापाल तिलविक्रम लिम्बूसहित वडाबासी नागरिकहरु सडकमा निस्किएका थिए ।
उनीहरुले सडकमा भएको खाल्डाखुल्डी पुर्ने, खसेका ससाना पहिरो र ढुङ्गा पन्छाउने, झाडी फँडानी गर्ने, सडकमा नाली काट्नेलगायतका काम गरेका थिए ।
वर्षातको कारण सामान्य गाडी गुड्ने समेत समस्या भएको र ठूलो मेसिन लगाउन समेत नसकिने भएपछि अध्यक्षको नेतृत्वमा आफैं बाटो मर्मत गर्न निस्किएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए । आफ्नो गाउँको विकासका लागि स्थानीय नागरिकहरु आफैं जुट्नुपर्छ भन्ने सन्देश दिनका लागि समेत सो काम गरिएको लिम्बूको भनाई छ ।
फोटो फिचर हेर्नुहोस् :
फोटो : फाकफोकथुम गाउँपालिका इलामबाट