इलाम : आठौं संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) ले सोमबार इलाम सदरमुकाममा दिपावली गरेको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति इलामको आयोजनामा इलाम चोक बजारमा दीप प्रज्वालन गरिएको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति इलामका अध्यक्ष बिजय खम्बूको नेतृत्वमा सो दलका प्रतिनीधी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सक्रियतामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष खम्बूले राईले २००७ सालबाट सुरु भएको राजनीतिक आन्दोलनको यात्रापछि संविधानसभाबाट संविधान निर्माण गरिएको दिन स्मरणीय रहेको बताउँदै संविधान कार्यन्वयन र संविधानप्रति जनताले गरेका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवम् इलाम नगरपालिका ७ नं. वडा अध्यक्ष नरेश श्रेष्ठले समेत संक्षिप्त सम्बोधन गर्दै प्राप्त उपलब्धिको रक्षाका लागि संविधानको कार्यान्वयमा जोड दिएका थिए ।
कार्यक्रमको संचालन माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले गरेका थिए ।
दिवसको अवसरमा शहिद स्मृति प्रतिष्ठनको आयोजनामा शशिकला पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।
संविधानसभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । सोही दिनलाई संविधान दिवसको रुपमा नेपालमा मनाउने गरिन्छ ।
यद्यपी, पहिचानवादी राजनीतिक दल तथा अभियानकर्मीहरुले भने यो संविधानलाई स्वीकार गरेका छैनन् । उनीहरुले विभिन्न स्वरुपमा संविधान दिवसलाई वहिष्कार गर्दै आएका छन् ।
फोटो फिचर हेर्नुहोस् :
-सबै फोटो सौजन्य : प्रकाश परियार