सूर्योदय नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७९ लाख

  नयाँ बुलन्द
161 Shares


इलाम : इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९।८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार स्थानीय फिक्कल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरी १ अर्ब ३५ करोड ७९ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर निर्माण गरिएको बजेट सार्जजनिक गरिएको हो ।

नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले नगरपालिकाले ल्याएको बजेटको प्रशंसा गरिन् । लैङ्गिक समानताका आधारमा बजेट ल्याएको भन्दै पूर्ण कार्यान्वयनको शुभकामना व्यक्त गरिन् ।

मन्त्री लिम्बूले तीनै तहको सरकारका बिचमा समन्वय आवश्यक रहेकोमा जोड दिदैं प्रदेश सरकार स्थानीय सरकारसँग सँगसँगै रहेकाले हातेमालो गर्दै अघि बढ्ने बताइन् ।

मन्त्री लिम्बूले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न लोकल रक्सी र स्थानीय उत्पादन ब्रान्डिङ गर्ने कार्यमा पर्यटन मन्त्रालय लागिरहेको पनि जानकारी गराइन् ।

कार्यक्रमका अध्यक्ष नगरप्रमुख राईले संविधानले दिएका अधिकारभित्र रहेर कानुन बनाउने तथा कार्यान्वयन गर्ने कार्यमा आफूहरु लागिपरेको बताए  । सूर्योदय नगरपालिकाका थुप्रै योजना पूरा हुन बाँकी रहेकाले काम धमाधम गरिने बताए ।

राईले विभिन्न पालिकाले करारका कर्मचारी हटाईरहेको भन्दै आफूहरु त्यसो नगर्ने बताएका छन् । नैतिक अनुशासन गुमाएकालाई बाहेक करारका कर्मचारी हटाएर नयाँलाई ल्याउने कुरा पक्षपात हुने उनेको भनाई छ । उनले भने, ‘पाँच वर्षको ऊर्जाशील समय खर्च गराएर उनीहरुलाई हटाउनु अन्याय हुन्छ सूर्योदय नगरपालिकाले त्यसो गर्दैन ।’

कार्यक्रममा संविधान सभाकी पूर्व सदस्य लिलादेवी श्रेष्ठ, जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराईली, नगर उपप्रमुख दुर्गा कुमार बराल, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, नेपाली कांग्रेस सूर्योदय नगरसभापति जिवन नेपाल, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, नर्वदा कल्याण बोर्डीङ स्कुल मेहेलबोटेका प्रिन्सिपल सफल राईलगायतले मन्तव्य राखेका थिए ।

पत्रकार महतसहित ४८ जनालाई सम्मान

यसैबीच सोहीका कार्यक्रम मार्फत नगरपालिकाले क्रियाशील पत्रकार दिनेश महतलाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट सूर्योदय नगरपालिकाले गरेका सकारात्मक कामको प्रचार र खबरदारी सहितको समाचार सम्प्रेषण गरी योगदान पुर्‍याएको भन्दै पत्रकार महतलाई नगरपालिकाले सम्मान गरेको हो ।

महत विभिन्न संचारमाध्यममा आवद्ध हुँदै विगत ६ वर्षदेखि स्थानीय रेडियो बुद्धवाणी एफएमका संस्थापक अध्यक्ष र स्टेशन म्यानेजरका रूपमा कार्यरत रहेका छन् । उनी नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य समेत हुन् ।

यसैबीच विभिन्न विधाबाट ४८ जनालाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार