सिंगापुर : सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेलाई राजनीतिक शरण नदिइएको बताएको छ ।
देशमा चरम आर्थिक संकटपछि उत्पन्न राजनीतिक तनावबीच प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि मुलुकबाट भागेका राजपाक्षेले राजनीतिक शरण नमागेको सिंगापुर सरकारको भनाइ छ । त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले उनी निजी यात्राका लागि सिंगापुर आएको बताए ।
उनले भने, ’श्रीलंकाका राष्ट्रपति राजपक्षेलाई निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो । उनले राजनीतिक शरण मागेका छैनन् । र, कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुरले सामान्यतयाः राजनीतिक शरणको निवेदनलाई स्वीकार गर्दैन ।’
श्रीलंकामा जारी अस्थिरताका बीच हिजो बिहान राष्ट्रपति गोटाबायो माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका छन् ।
तर श्रीलंकामा प्रदर्शनकारीहरुले राजपक्षे र विक्रमासिंघे दुबैको राजीनामा मागिरहेका छन् ।