इलामः वैदेशिक रोजगारीको सिलशिलामा दक्षिण कोरिया पुगेका इलामेहरुको संस्था इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा फाकफोकथुम गाउँपालिकाका टिका थेगिम निर्वाचित भएका छन् ।
संस्थाको असार २५ गते (१० जुलाई २०२२) मा सम्पन्न चौथो अधिवेशनबाट थेगिमको नेतृत्वमा १६ सदस्यीय समिति गठन भएको छ भने पहिलो वैठकबाट उपाध्यक्ष पदका दुई जना चुनिने भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्ष दिप गुरुङ,उपाध्यक्ष देशबहादुर लिङ्देन,महासचिव सुरेश रिजाल,सचिव भिम विराज शंकर,कोषाध्यक्ष भवानी घिमिरे र सहकोषाध्यक्ष मदन चापागाईंलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, सदस्यहरुमा आशिष शाह,सुवाश चेम्जोङ,डिल्ली हाङ् सुब्बा,सुनिल गुरुङ,गणेश तामाङ,छत्र राई र तिर्थ लुईटेल निर्वाचित भएको अधिवेशनका निर्वाचन मण्डल संयोजक प्रतिक बोहोराले जानकारी दिए । निर्वाचन मण्डलका अन्य सदस्यमा केदार निरौला,पवित्रा थेवे,खोम गुरुङ,कमल राई,महेश थापा र दावा फिन्जो तामाङ रहेका थिए ।
“सुर्योदय र हरियाली इलामेलीहरुको पहिचान,पर्यटन प्रवर्धन र समाजसेवा हाम्रो अभियान” भन्ने नारा सहित वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेपनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य अनुसार सन् २०१४ मा स्थापना गरिएको हो । संस्थाका संस्थापन अध्यक्ष हरि प्रसाद खनालपछि मन्जु लावती र दर्पण गुरुङ दोस्रो अधिवेशनमा अध्यक्ष बनेका हुन् भने यसअघिको तेस्रो अधिवेशनमा केदार निरौलाले पद सम्हालेका थिए ।
इलाम जिल्लाका पाँच सय भन्दा बढी युवाहरु कोरियामा कार्यरत रहेको र यस समाजले विरामीहरुलाई उपचार सहयोग,कोरोना महामारी,दैवी प्रकोप,आपतकालीन समय सहयोग,राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । आर्थिक सहयोग जुटाउने अभियान चलाउन अगुवाईको भूमिका निर्वाह गरेका अध्यक्ष थेगिमले विभिन्न म्युजिक भिडियो समेत बनाएका छन् । कोरिया एक दशक कार्यरत उनले इलाम जिल्लाका विभिन्न सुन्दर ठाँउहरुको छायांकन गरिएको म्युजिक भिडियो निर्माण गर्दै ओझेलमा परेका प्राकृतिक पर्यटकिय गन्तव्यहरु दर्शकका नजरमा पुर्याउन खोजेका छन् ।
किराँत याक्थुङ चुम्लुङ कोरियाको निवर्तमान कोषाध्यक्ष,समाजको समितिमा आवद्ध भइ काम गरेका उनी इलाम फाकफोकथुम-१ निवासी हुन् । सामाजिक कार्यमा पनि अग्रसर थेगिमले व्यक्तिगत रुपमा बाढी पीडित,आगलागी भइ क्षति भएको परिवारलाई,विद्यालय,खेलकुद क्षेत्र साथै निम्न आर्थिक अवस्था भएका विरामी र समस्यमा परेका साथीहरुलाई सहयोग गर्दै आएका उनले बताए ।
विभिन्न क्षेत्रमा अभिरुचि राख्ने उनी सामाजिक अभियान्ताको रुपमा चिनिएका छन् । विगत आधा दशकदेखि निरन्तर गीत संगीतमा सक्रिय भूमिका निर्वाह गर्दै ‘ढकमक्क गुराँस फुल्यो’ भन्ने बोलको गीत साथै उनको शब्द रचनामा ‘घुम्नलाई जाउ इलाम’ नामक म्युजिक भिडियो पनि बनाएका छन् ।
हाल नेपालका हरेक जिल्लाबाट कोरिया पुगेका नेपालीले समाज गठन गर्दै आफ्नो गाउँठाउँमा समस्या पर्दा सहयोग गर्दै आएका छन् ।