डीपीआरविनै रंगशालाका नाममा राज्यकोषको १ करोड २० लाख खर्च

  नयाँ बुलन्द
42 Shares

झापा । ‘एक स्थानीय तह, एक खेल ग्राम’ नीति अन्तर्गत खेलकुद रंगशाला निर्माणका लागि झापाको अर्जुनधारामा सरकारले प्रक्रियाबाहिर रहेर लगानी गरेको छ ।

समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।

अर्जुनधारा नगरपालिका–७ स्थित फुलवासा खोला किनारमा प्रस्तावित अर्जुनधारा रंगशाला निर्माणका लागि सात वर्षदेखि बजेट आइरहेको संघका अध्यक्ष धर्मानन्द गुरागाईं बताउनुहुन्छ । आएको रकम मैदान सम्याउन र जग्गा संरक्षणका लागि पर्खाल लगाउँदैमा ठिक्क भएको उहाँको भनाइ छ ।

रंगशाला निर्माणका लागि अर्जुनधारा नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले एक करोड १७ लाख रुपैयाँभन्दा बढी लगानी गरेको हो । आर्थिक वर्ष २०७६/०७७ मा युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ लगानी गरेको थियो भने सोही आर्थिक वर्ष अर्जुनधारा नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा युवा तथा खेलकुद मन्त्रालयले २५ लाख रुपैयाँ लगानी गर्दा अर्जुनधारा नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेको अर्जुनधारा नगरपालिकाका इञ्जिनियर निरज अधिकारी बताउनुहुन्छ ।

५ बिघा ८ कट्ठा जमिनमा संघले रंगशाला बनाइरहेको छ । खेल मैदान निर्माणका लागि संघ र अर्जुनधारा नगरपालिकाबीच सम्झौता भए पनि जग्गाको स्वामित्व नगरपालिकालाई प्रदान गर्ने उल्लेख गरिएको छैन भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको छैन ।

चालु आर्थिक वर्षबाट मात्र डीपीआर डीपीआर तयार गरिने नगरपालिकाका इन्जिनियर अधिकारी बताउनुहुन्छ । त्यसका लागि आफूहरूले कागजात तयार पारिसकेको र राष्ट्रिय गौरवको आयोजनामा समेट्न प्रयास गर्ने उहाँको भनाइ छ ।

माटो परीक्षण र डीपीआरसमेत नगरी रंगशालाको संरचना निर्माण गरिनुले राज्यको लगानी खेर जाने आशंका उब्जिएको छ । योजना विना निर्माण भइरहेको खेलमैदानको भविष्य अझै अन्योलमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार