इलाम : इलामको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । ‘मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ,’ किसान राईले भने, ‘आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।’
यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको छ ।
थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहनती र अगुवा किसानलाई ‘गुरु किसान’ का रूपमा सूचीकृत गरेर सबैलाई व्यावसायिक बनाउन यो अवधारणा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताए । उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘गुरु किसान भनेका अगुवा, मेहनती किसान हुन् । उहाँहरूबाट अरुले सिक्ने हो, त्यसैले उहाँहरुलाई गुरु किसान भनिएको हो,’ उनले भने ।
गाउँपालिकाले गुरु किसानमार्फत् उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ । ‘सबैभन्दा कम क्षेत्रफलमा सबैभन्दा धेरै फलाउनेलाई प्रोत्साहन गर्ने भनेर कार्यविधिमा उल्लेख गरेका छौँ । उत्पादकत्वमा वृद्धि, उत्पादित कृषि वस्तुको परिमाण, गुणस्तर र निरन्तरता बजारीकरणका लागि प्रमुख कुरा हुन् । यी कुरामा किसानबाट नै सुधार ल्याउन सकिन्छ,’ अध्यक्ष स्याङ्बोले भने ।
-लोकान्तर