पाँचथर : फाल्गुनन्द गाउँपालिका १ नम्बर वडास्थित अम्लाबुङ देवीचोकका लिम्बु समुदायका युवाहरू संस्कृति पुर्नजागरण अभियानमा जुटेसंगै यतिबेला च्याब्रुङ निर्माणमा व्यस्त छन् ।
देवीचोक युवाक्लबद्वारा तीन हप्तासम्मको लिम्बू भाषा प्रशिक्षण सम्पन्न भए लगत्तै उनीहरु च्याब्रुङ निर्माण कार्यमा जुटेका छन् । लिम्बु संस्कृतिको उदाहरणिय केन्द्रविन्दु बनाउने उदेश्य सहित उत्तर कुमार आङ्देम्बेको नेतृत्वमा संस्कृति बाजा निर्माण तथा संरक्षण कार्य शुरु गरिएको क्लब अध्यक्ष कुबेर आङ्देम्बेको भनाइ छ।
लिम्बु जातीको हरेक रितिरिवाज र संस्कारमा प्रयोग गर्ने च्याब्रुङ तयार गर्दै आफ्नो पहिचान सहितको मौलिक बाजाको थप प्रबर्द्धन गर्न युवाहरु सकृय र उत्साही बनेको संस्कृति अभियन्ता स्थानीय युन्छोहाङ र सुर्य आङ्देम्बेले बताए ।
लिम्बु जातीको बाहुल्य रहेको यस पालिकामा सम्पूर्ण जात जातीले एक अर्कामा सम्मान र आपसी संस्कृतिको मेलबाट पालिका समृद्ध हुने बताउँदै यसको संरक्षणमा जुट्न लागेको युवाहरु बताउँछन् ।
अग्रजहरुले निर्माण गरेर पछिल्लो पुस्तालाई दिएका सामाग्रीहरुको भरमा मात्रै परम्परा थाम्न नसकिने ठहर गर्दै उनीहरुले बाजा बनाउन आफै सिक्न थालेका छन् ।
बाजा निर्माणमा प्रोत्साहन सहित अम्लाबुङ घरभइ हाल काठमाडौं बस्दै आएका समाजसेवी तथा राजनितिककर्मी एविराज आङदेम्बेको आर्थिक सहयोग र सल्लाहमा च्याब्रुङ निर्माण शुरु गरिएको जनाइएको छ ।
पछिल्लो समयमा लिम्बू जातीको पुरानो संस्कार भेषभुषा,गरगहनाको प्रयोग गर्न र केलाङ्ग नाच प्रति युवा युवतीको आकर्षण बढेको छ । आजभोलि हङकङ,कोरिया,युके,सिङ्गापुर,अमेरिक लगायतका मुलुकमा रहेका नेपाली लिम्बु जातीहरु समेत आफ्नो जातिय पहिरन र बाजागाजा लिएर जानेक्रम बढ्दो छ ।
प्राग ऎतिहासिक कालमा तिगेन्जङ्नाका दुई छोरा नाम्सामी र केसामी जुम्ल्याहाको मिथक मुन्धुमी सभ्यतासंग ‘के’ अर्थात च्याब्रुङ निर्माण कार्य जोडिएको कथन छ । सोधुङ्गेन लेप्मुहाङको छोरा बाजाइवा मुन्धुम अनुसार विश्वकै पहिलो घर निर्माता हो ।पहिलो घरको खम्बामा घमिरा लागेर केहि वर्षमै भत्किएकोले बुबाको सल्लाह अनुसार पुनः नयाँ घर निर्माण गरि नाम्सामिहारा निर्मित ‘के’ अर्थात च्याब्रुङ ल्याइ नयाँ घर पैचोको दिन केलाङ नाच्न लगाएको केलाङ नै पहिलो नाच भएको लोककथामा आधारित कथन छ ।
खरीविहिन ढोल आकारका बाजाहरु ५ हजार इसा पूर्वको हो भनी मान्य विद्वानहरुको विश्वास छ । यसर्थ खरीविहिन च्याब्रुङ बाजालाई अति प्राचीन बाध्य यन्त्रहरु मध्ये एउटा मानिएको छ ।
मुन्धुममा सङसिङ (चिन्डेको रुख) र हङसिङ(खमारीको रुख) च्याब्रुङको लागि प्रयोग भएको पाइन्छ भने च्याब्रुङ बाजा आजभोलि सरदर १५ देखि २० हजार रुपैयाँको खर्चमा निर्माण हुने फाल्गुनन्द -५ निवासी लिम्बु भाषा,लिपी तथा संस्कृतिका अध्येता तथा स्थानीय शिक्षक मोहन चन्द्र चेम्जोङले जानकारी दिए ।