संचारकर्मी सुनुवारद्वारा कोइँच भाषाको कविता युनेस्को कोरियामा वाचन गर्दै

  नयाँ बुलन्द
679 Shares

 

इलाम : युनेस्को काेरियाद्वारा यही नोभेम्बर २५ देखि २६ सम्म दुई दिन सिओलमा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी अन्तर्गत ‘आदिवासी भाषाहरुको दीगो विकास’ विषयक सम्मेलनमा कोइँच भाषाकाे कविता वाचनका लागि शाेभा सुनुवार छनाैट भएकी छिन् ।

गोष्ठीमा सहभागी हुन नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषाका कविहरु मध्ये लेखन र प्रकाशन निरन्तरताका आधारमा शाेभा सुनुवारलाई भाषा आयोगमा सिफारिस गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट शोभाको साहित्यिक पृष्ठभूमि अध्ययनपछि उनी सम्मेलनका लागि छनौट भएकी हुन् ।

सम्मेलनमा सहभागी कविहरुले मातृभाषामा लेखिएको दश कविता अङ्ग्रेजी अनुवादसहित बुझाउनुपर्ने छ । सम्मेलनको सर्वोत्कृष्ट कविले तीन हजार युएस डलर पुरस्कार प्राप्त गर्नेछ ।

पेशाले संचारकर्मी एवम् समाजसेवी सोभा सुनुवार आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ,कोइँच राज्यसमिति संयोजक हुन् ।

को हुन् कोइँच आदिवासी ?

रोलवालिङ हिमश्रृङ्खलालाई मूल बनाएर दक्षिण-पूर्व बग्ने मध्य-पूर्वी नेपालको सुनकोशी, दूधकोशी,तामाकोशी, लिखुकोशी र यसका सहायक नदी खिम्ती, येलुङ, मोलुङ, सोलुङ नदी वरपरका भू-भागमा परापूर्वकालदेखि खनीखोस्री, खोरिया फाँडेर बस्ने पहिलो बासिन्दा हुन् आदिवासी जनजाति कोइँच । ७० भन्दा बढी विभिन्न थर, उपथर भएका ५५,७१२ (०.२१० प्रतिशत) कुल जनसङ्ख्या रहेको आदिवासी जनजाति कोइँचहरूको मातृभाषालाई ‘कोइँच लोः’ र ‘मुकदुम’ दर्शनको आधारमा वा प्रक्रियानुसार परम्परागत रूपमा उनीहरूले मान्दै, विश्वास गर्दै आएको धर्मलाई ‘किरात धर्म’ भनिन्छ । खस भाषामा वा विद्यमान समाजमा सुनुवार, सुनवार, मुखिया, शिकारी, मारपाचे किराती भनेर चिनिएका यी आदिवासी जनजाति कोइँचलाई नेपाल सरकार, स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूचि १ मा भने ‘सुनुवार’ आदिवासी जनजातीको नाम दिएर ५९ आदिवासी जनजातिमध्ये एकको रूपमा सूचिकृत गरिएको छ । उनीहरूको प्रतिनिधिमुलक संस्था सुनुवार सेवा समाजले ‘सुनुवार’ नामलाई ‘किरात कोइँच’ बनाउनुपर्ने पर्ने जिकिर गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार