रेडपान्डा क्षेत्रमा नपस्न अपिल

असारदेखि असोजसम्म बच्चा जन्माउने–हुर्काउने भएकोले संवेदनशील

ताप्लेजुङ : रेडपान्डा पाइने जंगल क्षेत्रमा असोजसम्म प्रवेश नगरिदिन संरक्षणकर्मीले अपिल गरेका छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाले सन्तान जन्माउने र हुर्काउने समय भएकाले जंगल क्षेत्रमा प्रवेश नगरिदिन अपिल गरेका हुन् ।

तीनजुरे मिल्के जलजले क्षेत्रअन्तर्गत संखुवासभाको मिल्केभन्ज्याङ नजिक जंगलमा क्यामेरा ट्र्यापमा परेको रेडपान्डा । फाइल तस्बिर : कान्तिपुर

असारदेखि सन्तान जन्माउन सुरु गर्ने रेडपान्डाले असोजसम्ममा आफ्नो बच्चा जन्माएर हिँडडुल गर्न सक्ने बनाउँछ । यो अवधिमा जंगलमा रूख काट्ने, हाँगाबिँगा निकाल्ने, ढुंगा फुटाउनेजस्ता गतिविधि भए तर्सिने र बासस्थान सर्ने हुन्छ । बच्चा हुर्काउनका लागि बनाएको बासस्थान छोडेर हिँडे बच्चालाई असर पर्ने र हुर्कन कठिन हुने रेडपान्डा नेटवर्कको सहयोगमा सञ्चालित हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउँछन् ।

संरक्षणविद् स्वर्गीय प्रल्हाद योञ्जनले लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको तत्कालीन अध्ययन प्रतिवेदनअनुसार रेडपान्डाको ८६ प्रतिशत बच्चा हुर्काउन कठिन हुने गरेको छ । रेडपान्डा नेटवर्कमा रहेको उक्त प्रतिवेदनमा सबैभन्दा ठूलो असर असारदेखि असोजसम्मकै बेला हुने उल्लेख छ । रेडपान्डाले आफू गर्भवती भएपछि रूखको टोड्कामा सुरक्षित बासस्थान बनाउँछ । दूध चुसाएर बच्चा हुर्काउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त स्थान छनोट गर्छ । तर यो अवधिमा गाडीको हर्न बज्ने, ढुंगा फुटाउने, सेउला संकलन गर्नेजस्ता गतिविधि भए उसले आफ्नो बच्चामाथि आक्रमण भएको ठानेर सुरक्षित गर्न अन्यत्र सर्छ ।

त्यसरी सर्दा बच्चालाई उपयुक्त वातावरण नमिल्ने भएकाले बढी जोखिम यही बेला हुने रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम लामा बताउँछन् । उनका अनुसार धेरै रेडपान्डा सामुदायिक वनमा पाइन्छ । सामुदायिक बनेको कार्ययोजनामा यो समयमा जंगल पस्न नहुने, घाँस दाउरा नगर्ने उल्लेख छ । कोही पसे रेखदेख गर्ने पनि उल्लेख छ । तर सामुदायिक वनले यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छैन । यो बेला कुकुरहरू पनि रेडपान्डाका लागि चुनौती बन्ने गरेको पाथीभरा गोठपालक बताउँछन् । उनीहरूले जंगलमा गएर तर्साउने र बिच्क्याउने खतरा हुने गरेको फेदीका देउमान विष्टले बताए ।

फागुनमा गर्भाधारण गर्ने रेडपान्डाले १ सय ३५ दिन अवधिमा बच्चा जन्माउँछ । मालिङ्गाको टुसा, टेङ्गाको दाना, भालुचिन्डेजस्ता आहारा खाएर बाँच्ने यो आहाराको खोजीमा निस्कँदा कुकुरलगायतले आक्रमण गर्ने जोखिम हुने गरेको छ । रेडपान्डा क्षेत्रमा कुकुरको आतंक नहोस् भनेर रेडपान्डा नेटवर्कले तीन वर्षसम्म बन्ध्याकरण शिविर चलाएको थियो । सुन्दर तर लजालु स्वभावको यो जनावर बच्चा हुर्काउने समयमा भने शंकालु हुने गरेको संरक्षणकर्मीको बुझाइ छ ।

नेपालमा ५ देखि ८ सयको हाराहारीमा रहेको अनुमान गरिएको रेडपान्डा ७५ प्रतिशत पूर्वी नेपालको ताप्लेजुङ, तेह्रथुम, पाँचथर र इलाममा रहेको अनुमान छ ।

-कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार