वर्षौदेखि झुक्किएका इलामेले यस पटक झुक्याउनेछन् : लामिछाने (तस्बिरहरु)

इलाम : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताएका छन् । उनले घेराबन्दीलाई तोडेर छाड्ने चेतावनी दिए । इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने उनको दाबी छ ।

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री लामिछानेले पुराना दलले वर्षौँसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई भोट नदिन र मत बदल्न आग्रह गरे । उनले भने ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो। पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस् । तर, मत घण्टीमा दिनुस् । परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनुपर्छ । इलामले पनि अब परिवर्तनको घण्टी बजाउने वेला भइसक्यो ।’

उनले यस पटकको निर्वाचनमा मतदाताले पुराना दललाई झुक्याउने बताए । ‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन्,’ उनले भने, ‘तर, यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउनेछ । र, त्यो लहरले ०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन ।’

उनले मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै सचेत रहन आग्रह गरे । चुनावी सभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफू आबद्ध वा माया गर्ने दललाई सुध्रन दबाब बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिए । रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौँदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरूको चाहना सम्बोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार