माङसेबुङका विपन्‍नलाई अनुदानमा बाख्रा वितरण

  नयाँ बुलन्द
392 Shares

माङसेबुङ : विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाका गरिब तथा विपन्नलाई अनुदानमा बाख्रा वितरण गरिएको छ ।

गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई ३२ बाख्रा वितरण गरिएको हो । ४ वटा समूहका ८ जनालाई प्रतिव्यक्ति ४ वटाका दरले बाख्रा वितरण गरिएको सामाजिक परिचालक सरिता लिङदमले जानकारी दिइन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष मैतराज राईको अध्यक्षतामा चिवुवामा कार्यक्रम आयोजना गरी बाख्रा वितरण गरिएको थियो । यसका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको छ । वितरण गरिएका सबै बाख्राको पशुविमा समेत गरिएको छ ।

वडाअध्यक्ष राईसहित वडा सदस्य इन्द्रबहादुर लिम्बू, संगीता राईलगायतको उपस्थितीमा विपन्न परिवारको समूहलाई बाख्रा वितरण गरिएको थियो ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष राईले बाख्रापालन व्यवसाय गरेर राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।

गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत सो वडामा गरिब तथा विपन्नहरुको ८ वटा समूह गठन भएका छन् । १० देखि २० जनासम्म गरिब तथा विपन्न सम्मिलित समूह छन् ।

यसअघि वडा नम्बर २ मा अघिल्लो वर्ष बंगुर र बाख्रा वितरण गरिएको थियो । गतवर्ष वडाका १५ समूहलाई ३० बंगुर र १५ वटा बाख्रा वितरण गरिएको थियो । गतवर्ष १० वटा समूहलाई प्रतिसमूह एउटा बंगुर र एउटा बाख्राका दरले १० वटा बंगुर र १० वटा बाख्रा वितरण गरिएको छ । त्यस्तै १६ देखि २० जनासम्म गरिब तथा विपन्न सम्मिलित ५ वटा समूहलाई प्रतिसमूह २ वटा बंगुर र एउटा बाख्राका दरले १० वटा बंगुर र ५ वटा बाख्रा वितरण गरिएको छ । त्यसैगरी तीनै समूहमा सम्मिलित अपांगता भएका ५ जनालाई व्यक्तिगत रुपमा ५ वटा बंगुर वितरण गरिएको थियो ।

बाख्रा पाउँदा किसानहरु खुशी भएका छन् । उनीहरुले व्यावसायिक ढंगले बाख्रापालन गरी आम्दानी बढाई जीवनस्तर माथि उकास्न लागिपर्ने प्रतिक्रिया दिएका छन् ।

माङसेबुङ गाउँपालिकाको २ र ३ वडामा गत आर्थिक वर्षदेखि गरिबसँग विश्वेश्वर कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम अन्तरर्गत गरिब तथा विपन्न परिवारलाई आयआर्जनको लागि विभिन्न आयमुलक कार्यक्रम संचालन गरिदैं आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार