कोरोना महामारी नियन्त्रणमा नेपाललाई चीनको सहयोग

  नयाँ बुलन्द
133 Shares

 

इलाम : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो ।
सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167.2 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँगै भारतमा दैनिक लाखौ मानिसहरु संक्रमित र हजारौ मानिसहरुको मृत्यु हुन थालेपछि भारतका अस्पतालहरुमा कोरोना संक्रमितहरुको चाप बढ्न थाल्यो ।
अस्पतालहरुमा बेड, अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव देखिन थाल्यो । भारतको स्वास्थ्य व्यवस्था धरासायी र नाजुक अवस्थामा पुग्यो ।

पहिले देखिएको भन्दा B.1.167.2 इन्डियन भेरियन्टलाई कोरोना भाइरसको खतरापूर्ण र जोखिमयुक्त भेरियन्ट भनिन्छ । सोहि कुरालाई मध्य नजर गर्दै भारत सरकारले देशभर लकडाउन घोषणा गर्यो । दुर्भाग्यवस नेपाललाई दोस्रो लहरको कोरोना भाइरसको संक्रमणले समात्यो, जब कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव मच्चाउन थाल्यो । भारतलाई रोजगारको मुख्य थलो बनाउने धेरै नेपालीहरु विभिन्न नाकाहरुको प्रयोग गर्दै आफ्नो घर फर्किन थाले ।

भारतसँग खुल्ला सिमाना रहेका कारण भारतबाट नेपाल फर्किने नेपालीहरुकोे संख्या उच्च हुन पुग्यो अनि नेपाल पनि कोरोनाको दोस्रो लहरको उच्च जोखिममा पर्यो ।

दोस्रो लहरको चपेटामा परेको नेपालमा यसको असर भयानक हिसाबले देखिन थाल्यो । दैनिक ९ हजार भन्दा धेरै नागरिकहरु कोरोनाबाट संक्रमित हुँदा सयौँ मानिसहरुले ज्यान गुमाउन थाले । सामान्य नागरिक, व्यापारी, कलाकार, नेता, डाक्टर , न्यायाधिस, नर्सलगायत धेरै मानिसहरुको दैनिक कोरोनाका कारण ज्यान जान थाल्यो ।

संक्रमण र मुत्युदर बढ्न थालेपछि नेपालका अस्पतालहरुमा कोरोनाका बिरामीहरुको चाप बढ्न थाल्यो । अस्पतालमा बिरामी बढेसँगै बेड, अक्सिजनका साथै अन्य स्वास्थ्य सामग्रीको अभाव हुन थाल्यो । सामान्य शब्दमा भन्दा नेपालको स्वास्थ्य व्यवस्था नै डामाडोल भयो ।

नेपालमा कोरोनाको पहिलो लहर प्रवेश गर्दा पनि सरकारले २०७६ साल चैत ११ गते देशव्यापी लकडाउन घोषणा गर्यो । लकडाउन ४ महिना लम्बियो र पछि खुकुलो बनाइयो । तर कोरोनाको भयानक दोस्रो लहरको प्रवेशसँगै नेपाल सरकारले देशका ६६ वटा जिल्लामा पूर्ण र ६ वटा जिल्लामा आंशिक गरि ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गर्यो ।

बेडको अभाव, आइसोलेसन सेन्टरको अभाव, अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको अभावले नेपालको स्वास्थ्य व्यवस्था नै धरापमा पर्यो । कोरोना भाइरसको संक्रमणबाट थिलथिलो भएको अवस्थामा नेपाललाई असल छिमेकी र एक घनिष्ठ मित्रका नाताले जनवादी गणतन्त्र चीनले सहयोगको हात बढायो । चीन सरकारले नेपालमा रहेको अक्सिजनको अभावलाई मध्यनजर गर्दै २० हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनायो र प्रतिबद्धता बमोजिम चीनले नेपाललाई दिने भनेको २० हजार अक्सिजन सिलिण्डर मध्ये ४०० सिलिण्डर हवाई मार्गको प्रयोग गरि २०७८ साल बैशाख २८ गते काठमाडौं ल्याइयो भने बाँकी अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री रसुवागढी नाकाको प्रयोग गरि ल्याइदैछ ।

यसअघि पनि चीन सरकारले नेपाललाई कोरोनाको पहिलो लहरका बेलामा मास्क,पीपीई किट, कोरोना टेस्ट किट लगायतका सामग्री पनि सहयोग गरेको थियो । कोरोनाका लागि स्वास्थ्य सामग्रीभन्दा पनि खोपको आवश्यकता नेपाललाई थियो । यसको लागि पनि चीनले नेपाललाई सहयोग गर्यो । चीन सरकारले नेपाललाई सिनोफार्म कम्पनीको ८ लाख डोज भेरोसेल खोप अनुदानमा दियो । चीन सरकारले दिएको भेरोसेलेको ८ लाख डोज अनुदान २०७७ साल चैत्र १६ गते नेपाल आयो ।

चीनले नेपाललाई उपलब्ध गराएको खोपको पहिलो डोज नेपालमा २०७८ साल चैत्र २५ गतेदेखि लगाउन सुरु गरियो । विश्व स्वास्थ्य सगंठनबाट मान्यताप्राप्त भेरोसेल खोप लगाउने अभियानमा नेपाली नागरिकहरु हार्दिकतासाथ खुलेरै सहभागी भए ।

काठमाडौंस्थित मोडेल हस्पिटल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयका वरिष्ठ डाक्टर सर्वोत्तम श्रेष्ठले पनि भेरोसेल खोप लगाउनुभयो । खोप लगाइसकेपछि चिनियाँ खोपको प्रभावकारिताबाट जानकारी दिनुहुँदै यस विषम परिस्थितीमा नेपाललाई सहयोग गरेकोमा चीन सरकारको खुल्ला हृदयले उहाँले प्रशंसा गर्नुभयो ।

नेपाली जनताले चिनियाँ खोपको प्रभावकारिताको खुलेरै समर्थन गर्दै खोप अभियानमा सहभागिता जनाउदै चीन सरकारप्रति आफ्नो सदभाव व्यक्त गरे । खोप अभियानमा सामान्य जनतादेखि विभिन्न पेसामा आवद्ध व्यक्तिहरुको सहभागिता रह्यो ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं.१० निवासी कमलादेवी भट्टराई चीन सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको भोरोसेल खोप आफु र आफ्ना सबै परिवारले लगाएको जानकारी दिनुहुँदै सो खोपबाट कुनै पनि किसिमका नकारात्मक असर नदेखिएको हुँदा सो खोप लगाउन सबैलाई सल्लाह दिनुहुन्छ । साथै उहाँ नेपाली जनतालाई सकेसम्म धेरै खोप उपलब्ध गराउन चीन सरकारलाई आग्रह गर्नुहुन्छ ।

आजको खवर अनलाईनका प्रधान सम्पादक डिल्लीरमण सुवेदी नेपाललाई कोरोनाले हल न चल पारेको अवस्थामा चीन सरकारले ८ लाख डोज कोरोना भाइरस विरुद्धको खोप र २० हजार थान सिलिण्डरका साथै अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चीन सरकारको उच्च मूल्याङ्कन गर्नुहुन्छ । साथै उहाँ साइड इफेक्ट नगर्ने चिनियाँ खोप लगाउन सवैलाई सुझाव पनि दिनुहुन्छ ।

पर्यटन व्यवसायी ईश्वरी पाण्डे चीनमा उत्पादन भएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएपछि आफुमा आत्मविश्वास बढेको बताउनु हुँन्छ । साथै सो खोप लगाउँदा टाउको दुख्छ, जीउ दुख्छ, ज्वोरो आउँछ भन्ने जस्ता हल्ला चलाईएकोमा त्यो सत्य नभएको पाण्डेको भनाई छ ।

टोखा नगरपालिका वडा नंं.१० का जेष्ठ नागरिक सूर्यनाथ कोइराला भ्याकिसनको सिमितताको कारण ५५ वर्षदेखि ६५ वर्ष सम्मका नागरिकले अझै पनि भ्याक्सिन लगाउन नपाएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यतिखेर चीन सरकारले पनि धेरै भ्यासिनहरु उत्पादन गरेको जानकारी प्राप्त भएको छ । चीन सरकारले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यो अवस्थामा सरकारले विशेष गरेर छिमेकी देश चीनसँग पहल गर्यो भने तुरुन्तै भ्याक्सिन आउन सक्छ भन्ने मलाई लाग्छ ।”

हाल नेपालमा ४ लाख भन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित छन् । ३ लाख भन्दा धेरैले कोरोनालाई जित्दा अझै १ लाख भन्दा धेरै कोरानोसँग लडिरहेका छन् । कोरोनासँग यो युद्धमा ४ हजार जना भन्दा धेरैले ज्यान गुमाई सकेका छन् ।कोरोनासँगको यो लडाई बच्नका लागि तोकिएका स्वास्थ्य मापदण्ड अपनाउनु त जरुरी नै छ । अझै जरुरी छ खोप लगाउनु ।

शुक्रराज ट्रपिकल हस्पिटलका सरुवा रोग बिशेषज्ञ वरिष्ठ डाक्टर शेर बहादुर पुन सुरुवातदेखि नै कोरोनाबिरुद्धको लडाईमा अग्रपङितमा रहेर खटिरहनु भएको छ । नेपालमा कोरोनाको प्रभाव देखिएदेखि अहिलेसम्म निरन्तर लागि पर्नु भएका डाक्टर पुनले खोपको आवश्यकता अनि यसको प्रभावकारितालाई राम्ररी बुझ्नु भएको छ ।

डा. पुन भन्नुहुन्छ, “खोपको राम्रो प्रभाव छ । धेरैजसो खोप लगाएका मानिसहरु अस्पताल भर्ना भएको होइन । खोप लगाए पनि केहीलाई संक्रमण त भएको छ तर उनीहरुलाई खासै जटिल अवस्था आएको छैन । मृत्युहुनेमा खोप नलगाएकाहरु नै धेरै छन् । त्यसैले खोप लगाउदा कत्ति फाईदा हुन्छ भन्ने कुरो यसले पनि देखाएको छ । त्यसैले हाम्रो लागि यो नयाँ कुरो हो । खोपमाथि शंका गर्ने थिए तर खोप लगाएका मानिसहरु फटाफट मरिरहेको अवस्था छैन । त्यसैले हामीले भ्याक्सिन लगाउनै पर्ने रहेछ । खोप लगाए धेरै भन्दा धेरैलाई बचाउन सकिन्छ भन्ने यो परिस्थितीले देखाएको छ ।”

चीनले दिएको भेरोसलको प्रभावकारिताका बारेमा बिज्ञहरुले पनि सकारात्मक प्रतिक्रिया जनाइरहँदा नेपाल सरकारले पुनः २०७८ जेष्ठ २ गतेबाट चिनियाँ खोपको दोस्रो डोज लगाउने अभियान सुरु गर्यो र पहिलो खोप लगाएका नागरिकले सो अभियानमा फेरि खुसीका साथ सामेल भए र चीनको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरे ।

अहिले विश्वका धेरै राष्ट्रहरु खोपको पर्खाइमा रहेका छन् । खोपको आवश्यकता सबैलाई छ तर चीनले आफ्ना नागरिकहरुसँगै नेपालका नागरिकहरुप्रति देखाएको सदभावलाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गगांप्रसाद उप्रेती चीन सरकारको उदारताको मुग्धकण्ठले प्रशंसा गर्नुहुन्छ । उप्रेती भन्नुहुन्छ, “अहिले संकटको वेलामा हामीलाई सहयोगको आवश्यकता छ र जब जब हामीलाई संकट पर्छ त्यत्तिवेला हाम्रो भरपर्दो छिमेकी चीनबाट हामीले सहयोग प्राप्त गरिरहेका छौं । यसपटक पनि चीन सरकारले उपलब्ध गराएको सहयोगको लागि हार्दिक धन्यवाद दिंदै, उसको प्रसंसा गर्दै थप सहयोग उपलब्ध गराउन चिनियाँ मित्रहरु र चीन सरकारलाई म अनुरोध गर्छु । चीन हाम्रो असल मित्र भएकोले खोप, अक्सिजन, भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्रीको मात्रा अझ बढाएर सहयोग गर्न आग्रह गर्दछु ।”

कुलपति उप्रेती चिनियाँ भ्याक्सिनको बारेमा भन्नुहुन्छ, “चीनमा उत्पादन भएको भ्याक्सिन नेपालमा आइसकेको छ र लगाइदैछ । त्यो भ्याक्सिनले कहिल्यै नकारात्मक असर गर्दैन र त्यो भ्याक्सिन लगाई सकेपछि यो बढ्दो महामारी रोक्नका लागि लाभदायी छ । हामीले चिनियाँ भ्याक्सिन गम्भिर भएर लगाउनु पर्छ किनकी त्यसले एकदमै राम्रो काम गरेको छ ।”

चीन सरकारले कोरोनाबिरुद्ध निकै महत्वपूर्ण रहेको खोप नेपाललाई उपलब्ध गराई मानवता र असल छिमेकीको भूमिका निर्वाह गरेको छ ।

आशा छ चीन र नेपालबीचको सहयोगात्मक सम्बन्ध भविष्यमा अझ बढी मौलाउँदै अनि झांगिदै अघि बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार