जसपाको प्रवास समिति विस्तार : नेपाली समाजहरूलाई चलायमान बनाउने

लन्डन (यूके) : जनता समाजवादी पार्टीको प्रवास विशेष समितिले विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको छ । साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो ।

गत २८ मार्चमा बसेको मासिक पूर्ण बैठकले समितिमा थप सात सदस्यहरू समेत नियुक्त गरेको छ । पार्टीको प्रवास समिति र राष्ट्रिय समितिमा रहेर नेतृत्व गरेका नेताहरूलाई सदस्यका रूपमा मनोनीत गरिएको प्रवास प्रदेश समितिका मुख्य सचिव विश्वासदीप तिगेलाले जनाए । ‘पार्टीमा पु¥याएको योगदान र वरियताका आधारमा सदस्य थप गरेका हौँ,’ उनले भने, ‘प्रवासमा पार्टीको गतितिविधि तीव्र हुनेमा विश्वस्त छौँ ।’

मनोनीत सदस्यहरूमा नेपाली समाज यूकेका पूर्व अध्यक्ष कमल गुरूङ, लिम्बुवान समाज यूकेका पूर्व अध्यक्ष लोकेन्द्र तबेबुङ, नेपाली समाज मलेसियाका पूर्व अध्यक्ष विरेन्द्र नेगी, नेपाली समाजकी पूर्व अध्यक्ष क्षेत्रकला राई, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका पूर्व अध्यक्ष भानुभक्त देवकोटा, पूर्व नयाँ शक्ति सङ्घीय परिषद सदस्य शकुन्तला गुरूङ र कुवेतबाट जयनारायण थारू रहेका छन् । यस निर्णयसँगै प्रवास प्रदेश समितिको सदस्य सङ्ख्या ६६ पुगेको छ । समितिको अध्यक्षमा यूकेका धन गुरूङ रहेका छन् । उनी पहिले नयाँ शक्तिनिकट प्रवास समितिका अध्यक्ष रहिसकेका छन् । प्रदेश समितिको इञ्चार्जमा पार्टीका केन्द्रीय नेता आङकाजी शेर्पा रहेका छन् ।

जसपाको २० वटा मुलुकहरूमा प्रवास समितिका रूपमा नेपाली समाजहरू गठन भएका छन् । कोरोना महामारीका कारण पार्टीका कार्यक्रमहरू प्रभावित भएपनि नेपाली समाजहरू समसामयिक राजनीतिक परिस्थितिबारे अद्यावधिक रहेको मुख्य सचिव तिगेलाले बताए । उनले प्रदेश समितिले निकट भविष्यमा प्रेस सङगठन निर्माण गर्ने र हालसम्मका गतिविधिहरू समेट्न स्मारिका प्रकाशनको तयारी गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार