माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ स्थित ईभाङ मध्यमिक विद्यालयका प्रधानाध्यापक नविन बस्नेत प्रधानाध्यापक भई काम गर्न सुरु गरेको ४ महिना भयो ।
उनी मध्यामिक तहका प्रधानाध्यापकहरुमध्ये कान्छो र युवा प्रधानाध्यापकका रूपमा चिनिन्छन् । शैक्षिक क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर उनी दिनरात सोचमग्न हुन्छन् । आफ्नै गाउँको विद्यालय र आफैंले माध्यमिक तहसम्म अध्ययन गरेको विद्यालय भएका कारण पनि शैक्षिक स्तर उकास्न हरहमेसा लागिपरेका छन् ।
उनको विद्यालयमा बालविकास सहित कक्षा १ देखि ५ सम्म १२० जना बालबालिकाको अभिलेख छ र तर गएको महिनासम्म दैनिक हाजिरी ८०/८५ जनाको मात्र हुँदा बस्नेत चिन्तित हुने गर्दथे । धेरै बालबालिका कतिपय अनुपस्थित रहन्थे ।
तर अहिले सबै बालबालिका नियमति रुपमा विद्यालय आउन थालेका छन् । माघ अन्तिमबाट सुरू भएको दिवा खाजा कार्यक्रमले विद्यार्थी संख्या बढेपछि बस्नेत निक्कै खुसी भएका छन् । समयमा विद्यालय आउने र समयसम्म अध्ययनमा रुचि राख्दा अभिभावक र शिक्षकहरू समेत खुशी भएका छन् ।
स्थानीय स्तरमा उत्पादित पौष्टिक दिवा खाजा कार्यक्रमले माङसेबुङ १ स्थित रत्नदेवी आधारभूत विद्यालयमा पनि नियमित उपस्थित हुने बालबालिकाको संख्या ह्वात्तै बढेको प्रधानाध्यापक बाजहाङ लिम्बू बताउँछन् । खाजा खाएपछि पढ्न रुचि बढेको र समयसम्म विद्यालयमा अध्ययन गर्दा अभिभावक समेत सन्तुष्ट रहेको लिम्बुको भनाई छ ।
माङसेबुङ गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय र विद्यालयमै गाभिएका २२ तथा समुदायमा रहेका ३ वटा बालविकास केन्द्र छन् । ती विद्यालयका १ हजार ४ सय ९५ र बालविकास केन्द्रका २ सय ७३ गरि १ हजार ७ सय ६८ बालबालिकालाई दिवाखाजा खुवाउने गरि प्रतिदिन १५ रूपैयाकाँ दरले गाउँपालिकाबाट बजेट विनियोजन भएको माङसेबुङ गाउँपालिका शिक्षा प्रमुख टंक खरेलले बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र भर्ना भएका विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण बनाउनका लागि दिवा खाजा कार्यक्रम प्रभावकारी भएको उनको भनाई छ ।