कोरियामा कार्यरत फाल्गुनन्दका युवाद्वारा २८ लाख बराबरको उपचार खर्च सहयोग

  युद्धबहादुर बोहोरा
7 Shares

 

 

पाँचथर : दक्षिण कोरियामा कार्यरत फाल्गुनन्द गाउँपालिकाका युवाहरुले बिरामीलाई उपचार खर्च स्वरूप २८ लाख ४२ हजार एक सय ६० रुपैयाँ सहयोग गरेका छन् ।

रोजगारीको शिलशिलामा हाल दक्षिण कोरियामा रहेका युवाहरुको संयुक्त पहलमा फाल्गुनन्दका गरीब,दु:खी,असक्त र विपन्न परिवारका सदस्यलाई उपचार खर्चमा राहत पुर्‍याउने उदेश्यले सहयोग गरेको उनीहरुले बताए ।

गाउँघरका बिरामी आर्थिक अभावमा उपचार गर्नबाट वञ्चित नहुन भन्ने अभिप्रायले “पाँचथर,फाल्गुनन्द गाउँपालिका आपातकालीन राहतकोष दक्षिण कोरिया”२०२० मा स्थापना गरि बिरामी उपचार खर्च सहयोग गर्ने अभियान थालिएको कोषका संरक्षक भिमराज चेम्जोङले जानकारी दिए ।


उक्त अभियानबाट सन् २०२० को अवधिमा पालिका भित्रका बिरामीको अवस्था हेरेर आवश्यकता अनुसार सहयोग गरेको उनले बताए ।
यसै क्रममा रुखबाट लडेर मेरुदण्ड भाँचिएका फाल्गुनन्द वडा नम्बर १ निवासी पञ्चहाङ आङदेम्बेलाई एक लाख ४१ हजार सात सय रुपैयाँ र सोही वडाका ऐपेण्डीकका बिरामी भीम आङदेम्बेको उपचारका लागि एक लाख ५० हजार आठ सय ६९ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै, वडा नम्बर २ निवासी क्यान्सर पीडित आशा कुमारी नेम्बाङ (नुगो)को उपचार गर्न दुई लाख नौ हजार र
३ नम्बर वडामा आगोले जलेर खुट्टा घाइते भएका भालुके भनेर चिनिने गोपाल तामाङलाई दुई लाख ३३ हजार दुई सय २७ रुपैयाँ साथै सोही वडाका क्यान्सर पीडित लीलामाया नेम्बाङलाई एक लाख ९१ हजार एक सय ६३ रुपैयाँ सहयोग गरेको छ भने यही वडा निवासी कलेजो र मृगौला पीडित दिल कुमारी तामाङलाई दुई लाख १३ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।


यसैगरी, अभियान मार्फत वडा नम्बर ३ का अग्नि पीडित धनकुमार तामाङ ,पार्वती तामाङ र कमल परियारलाई दुई लाख ४४ हजार चार सय ३९ रुपैयाँ प्रदान गरेको छ । वडा नम्बर ४ निवासी लडेर खुट्टा भाँचिएकी सीता नेम्बाङलाई दुई लाख २९ हजार दुई सय २० रुपैयाँ र सोहि वडाका मेरुदण्डमा चोट लागेर घाइते पञ्चबीर नेम्बाङलाई एक लाख ९२ हजार रुपैयाँ उपचारको लागि राहत सहयोग उपलब्ध गराएको कोष समितिले जनाएको छ ।

बिरामी उपचारकै निमित्त मुटु र मृगौला पीडित ५ नम्बर वडाका भोटे माइलालाई दुई लाख ३० हजार एक सय २० रुपैयाँ समितिले दिएको छ भने वडा नम्बर ६ का ब्लड क्यान्सर पीडित सुमित्रा आङदेम्बेलाई एक लाख ७२ हजार चार सय ६२ रुपैयाँ कोष समितिका प्रतिनिधि मार्फत प्रदान गरेको च ।

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका वडा नम्बर ७ निवासी प्रतिक आङदेम्बेको उपचार गर्न एक लाख २८ हजार सात सय १० रुपैयाँ र सोही वडाका मृगौला पीडित बुद्धि राज चेम्जोङलाई दुई लाख ५१ हजार नौ सय ६७ रुपैयाँ साथै उक्त वडाकै कम्मर नचल्ने बिरामी वर्षा चेम्जोङको लागि तीन लाख १९ हजार ८३ रुपैयाँ उपलब्ध गराएको संरक्षक चेम्जोङले जानकारी दिए ।
विभिन्न किसिमका बिरामीहरूलाई जटिल अवस्थामा तत्काल आर्थिक सहयोग गर्दै आईरहेको यस अभियान समुहले स्थानीय जनप्रतिनिधिहरुले पनि उनीहरुले गरेको सहयोगलाई थप सहज बनाइ दिन समेत अनुरोध गरेको छ ।

आगामी दिनमा सक्रिय भइ जुट्न सबैलाई आग्रह सहित अभियानमा सहयोग गर्ने सबै दाताहरुलाई समितिले आभार प्रकट गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार