चिया मजदुरको सम्मानमा इलाम चोकबजारमा मुर्ति निर्माण

इलाम : इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मुर्ति अनावरण गरिएको छ ।

विहीबार एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले महिला मजदुरले चिया टिप्दै गरेको मुर्ति अनावरण गरेका हुन् ।

विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेका थिए । १९३५ सालमा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदुरहरुको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदुरको मुर्ति स्थापना गरेको जनाएको छ ।

श्रम र श्रमजिवि व्यक्तिहरु समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकोले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने र मुलुुकको विकास गर्न सकिन्छ भन्ने सन्देशका साथ मजदुरको मुर्ति चोकमा स्थापना गर्न सकेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले राजनिनिक परिवर्तनकै कारण आज मजदुरको सालिक निमार्ण गर्न सकिएको बताए ।

उनले गणतन्त्र केवल शब्दमा मात्रै नभई व्यवहारमा पनि आएको भन्दै राजाको शालिक रहने स्थानमा चिया मजदुरको शालिक निमार्ण गर्न सकिएको बताए ।

इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपालका इलामबाटै चिया रोपण सुरु गरेको इतिहासलाई सम्झदै चिया मजदुरकोे मुर्ति स्थापना गर्दा गौरव लागेको बताउनुभयो । उहाँले नगरभित्र विभिन्न स्थानलाई पर्यटकलाई आर्कषित गर्न नगरलाई श्रृंगार्न लागि रहेको बताए ।

विश्व मानवअधिकार दिवसको अवसरमा मुर्ति अनावरण गरिएको हो । इलामका मुर्तिकार विष्णु श्रेष्ठले महिला मजदुरले डोको बोकेर चिया टिप्दै गरेको मुर्ति बनाएका हुन् ।

-सविता पाण्डे/अनलाइन रेडियो नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार