झण्डीडाँडा सूर्योदयको दृश्यावलोकन गर्ने मुख्य गन्तव्य बन्दै

  मिलन राई  413 पटक हेरिएको

रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले रम्भ्याङस्थित झण्डीडाँडा सूर्योदयको दृश्यालोकन गर्ने  प्रमुख स्थल बन्दै आएको छ । धजेडाँडा र गाजलेडाँडाले पनि प्रख्यात झण्डीडाँडाबाट सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, कन्याम चियाबगान, पाथिभरा मन्दिर, झापाका समथर भू-भाग, भारतका धेरै प्रान्त र भुटानका केही भागको दृश्यालोकन गर्न सकिन्छ

उक्त स्थलको स्थानीय बासिन्दा र स्थानीय क्लबले संरक्षणको लागि पहलका साथ लागि परेको र हाल संघीय, प्रदेश र स्थानीय सरकारबाट यसको प्रवर्द्धन र विकासका लागि बजेट विनियोजन भएको वडा नम्बर ६ का वडाध्यक्ष एवम् रोङ गाउँपालिकाका प्रवक्ता मनिकुमार स्याङ्वो सुवासले बताए ।

त्यसैगरी सो ठाउँमा होमस्टे निर्माण तथा व्यवस्थापन गर्ने, पदमार्ग निर्माण, दृश्यालोकनका लागि भ्यु टावर, विभिन्न धर्मावलम्बीको मुर्तिको व्यवस्थापन, राष्ट्रिय तथा विश्व साइकलिन यात्रीको गन्तव्य निर्माण गर्ने, स्थानीय स्तरको कृषिका विभिन्न परिकार उत्पादन र तालिमको व्यवस्था गर्ने र उत्पादित वस्तु बिक्री गरी आर्थिक विकास गर्ने तथा तीनै तहबाट यसको प्रवर्द्धन तथा विकासका पहल गर्ने र मुख्य योजना बनाई विकास निर्माणमा लागि पर्ने पनि वडाध्यक्षले जानकारी दिए ।

झण्डीडाँडाको विकासका लागि निरन्तर खटिरहेको किरात फ्रेन्डस क्लब लगायत सम्पूर्णमा सल्लाह सुझाव दिई यसको विकासका निम्ति प्रत्यक्ष अप्रत्यक्ष रूपमा लागि परेका सबैमा अझै साथसहयोगको अपेक्षा गर्दै वडाध्यक्ष स्याङ्वोले धन्यवाद दिए ।

झण्डी पर्यटन क्षेत्र पुर्वाधारका लागि संघीय पर्यटन मन्त्रालयबाट १५ लाख रकम विनियोजन समेत भइसकेको र यसका लागि बुद्धको शालिक निर्माण गर्ने प्रस्ताव अघि बढिरहेको स्थानीय सरोकारवाला अशोक वान्तवाले जानकारी दिए ।

झण्डीडाँडामा किरात फ्रेन्डस क्लबको अगुवाइमा  लालीगुरास र विभिन्न किसिमका फूल रोप्ने, सडकको स्तरोन्नति गर्ने, विश्राम स्थल, खेलमैदान मर्मत, पदमार्ग निर्माण जस्ता कार्यहरू गरेर यसको प्रचारप्रसारमा लागेको किरात फ्रेन्डस क्लबका अध्यक्ष जीवन राईले बताए ।

पर्यटन प्रवर्द्धनका लागि प्रत्येक शनिबार स्थानीय किरात फ्रेन्डस क्लबको आयोजनामा एक दिने फुटबल पनि भइरहेको स्थानीयबासी सञ्जिव नाछिरिङले बताए । अन्य जिल्लाका  विभिन्न क्षेत्रबाट पर्यटकहरू वनभोज खाँदै घुम्न आउने गरेको पनि उनले बताए । स्थानीयबासी, बुद्धिजीवी, जनप्रतिनिधि लगायत सरोकारवालाहरू विभिन्न सल्लाह सुझाव, अन्तरक्रिया तथा योजनाका साथ यसको प्रवर्द्धन, विकास तथा पर्यटकीय क्षेत्र  निर्माणमा अघि सरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार