अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश फर्कायाे

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : ‘लकडाउन’ जारी भएको ४५ दिन पुग्न लाग्दा अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश फर्काएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान सेवा तत्कालै सञ्चालन नहुने अवस्था आएपछि विभिन्न देशले विमान ‘चार्टर’ गरेर आफ्ना नागरिक धमाधम लगिरहेका छन् ।

लकडाउनका कारण नेपालका विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिकलाई अष्ट्रेलिया सरकारले विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको छ ।

बुधबार नेपाली मूलकासहित २८१ जनालाई उद्धार गरेर अष्ट्रेलिया पठाइएको दूतावासले जनाएको छ ।

बिदा मनाउन आएका र विभिन्न कामको सिलसिलामा नेपालमा रहेका आफ्ना अष्ट्रेलियनहरु अन्तर्राष्ट्रिय विमान सेवा सञ्चालनको टुंगो नलागेपछि सरकारले व्यवस्था गरेको चार्टर विमानबाट घर फर्कनु परेको बताएका छन् ।

यसअघि, नेपालस्थित अष्ट्रेलियन दूतावासले काठमाडौंलगायत विभिन्न स्थानमा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याएको थियो ।

बुधबार स्वदेश पठाइएका यात्रुहरुमध्ये ५५ जना बालबालिकासहित २८१ जना रहेको दूतावासले जनाएको छ ।

उद्धार गरिएकाहरुलाई अष्ट्रेलिया पुगेपछि त्यहाँको सरकारले पनि दुई साता ‘क्वारेन्टाइन’मा राखेरमात्र घर पठाउने बताइएको छ ।

कतिपयले भने नेपालमा रहने चाहना हुँदा–हुँदै पनि स्वदेश फर्कन बाध्य भएको बताएका छन् । उनीहरुले स्थिति सामान्य भएपछि पुनः नेपाल आउने प्रतिबद्धता पनि जनाएका छन् ।

यसअघि पनि नेपालमा अलपत्र परेका आफ्ना देशका नागरिकलाई विभिन्न राष्ट्रले पटक–पटक विमान चार्टर गरी स्वदेश फर्काएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार