आविष्कार केन्द्रलाई सहयोग गर्न इलामका युवा कोरियामा सक्रिय

  नयाँ बुलन्द
14 Shares

इलाम : दक्षिण कोरियामा कार्यरत इलामका युवाहरुले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएका छन् । ‘सके एकदिन नसके एक घन्टा महावीर पुनको आबिष्कार केन्द्रलाई सहयोग गरौ’ भन्ने अभियानका साथ इलामे युवाहरु आर्थिक संकलनमा जुटेका हुन् ।

सामाजिक कामको लागि कोरियामा स्थापना गरिएको इलामेली समाजको अगुवाईमा आर्थिक संकलन थालिएको समाजका सचिव केदार निरौलाले जानकारी दिए । उनका अनुसार अहिले सम्म करिब १ लाख रुपैयाँ आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटि सकेको छ ।

सामाजिक संजाल मार्फत आर्थिक संकलनलाई तीब्र पारिएको अभियानका संयोजक भवानी घिमिरेले जानकारी दिए । विश्वव्यापी रुपमा बिभिन्न संघसंस्था तथा व्यक्तिगत रूपमा सहयोगको लागी अभियान सञ्चालन भईरहेको परिपेक्ष्यमा इलामेलीहरु पनि यस अभियानमा सामेल भई आबिष्कार केन्द्रलाई सहयोग गर्नुपर्छ भनेर अभियान थालेको संयोजक घिमिरेले बताए ।

समाजले २ लाख रुपैयाँ संकलन गरेपछि आविष्कार केन्द्रलाई सहयोग गर्ने योजना बनाएको छ । ५ वर्ष पहिले स्थापना भएको समाजले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार