गानो कुहिने रोगले अदुवा सखाप

उदयपुर : अदुवामा गाना कुहिने रोग लागेपछि उदयपुरका किसान पिरलोमा परेका छन् ।

अदुवाको गानो लाग्ने बेलामा कुहिने रोग लागेर ठूलो परिमाणमा क्षति भएपछि अदुवा खेती गर्ने किसान पिरलोमा परेका हुन् । जिल्लाको कटारी नगरपालिका वडा नं. ११ गोठ डाँडाका ज्ञानबहादुर बस्नेतले गाउँभरि नै यस्तो समस्या देखिएको बताए ।

गानो कुहिने रोगबाट यस भेगमा लगाइएको अदुवा पाँच प्रतिशत पनि नजोगिएको गुनासो गर्दै भने, ‘बीउको लगानी पनि नउठ्ने भयो । उदयपुरमा करिब तीन सय हेक्टरमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख वासुदेव ढुङ्गानाले बताए ।

उनले जिल्लामा वार्षिक चार हजार मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको जानकारी दिनुभए । गाना कुहिने रोगका कारण बिक्रीमा पनि समस्या भएको छ । यस्तो रोग देखेपछि व्यापारीले राम्रो मूल्य दिँदैनन् । वैशाख जेठमा रोपेको अदुवाको गाना लाग्ने समय भने भदौ असोज हो ।

कटारी नगरपालिकाको हर्देनी, मयाँखु, गोठडाँडालगायतका क्षेत्रबाट वार्षिक करिब तीन करोड रुपियाँको अदुवा बिक्री हुँदै आएको कटारी नगरपालिका वडा नं. ११ गोठडाँडाका स्थानीय किसान राजन राउत बताउँछन् ।

उनका अनुसार यस क्षेत्रमा बाँदरको समस्याले अरू कुनै पनि खेती गर्न नसकिने भएकाले किसानहरू अदुवा खेती गरेर जीवन निर्वाह गर्दै आएका छन् । कुहिने रोग देखा परेपछि कटारी नगरपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्र गुनासो गर्दा पनि उपचार गर्ने विधि पत्ता लगाउन नसकेको स्थानीय वडा नं. ११ का वडा सचिव कुशल राउत बताउँछन् । स्थानीय शङ्कर राउतको कृषि शाखा तथा कृषि ज्ञान केन्द्रले उपचारको विधि पत्ता नलगाए अदुवा खेती मासिने चिन्ता व्यक्त गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार