कथित माइली पाथिभराको पुजारीको अर्को कर्तुत, ५७ लाख झ्वाम पारेर भागेको पर्दाफास (अडियो संवाद सहित)

हजारौं भक्तजन वेवकुफ बन्दै

  नयाँ बुलन्द
0 Shares

झमकबहादुर घिमिरे । फाइल तस्वीर

इलाम :  कथित माईली पाथीभराको स्वघोषित पुजारी झमकबहादुर घिमिरेको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ । इलाम नगरपालिका ४ बरबोटे धारापानीका ४५ वर्षीय घिमिरेले झापा मेचीनगर १४ का विभिन्न बैंक, वित्तीय संस्था, सहकारी संस्था तथा व्यक्तिबाट ५७ लाख ५ हजार २ सय १४ रुपैयाँ झ्वाम पारेर भागेको खुलेको छ ।

विभिन्न व्यापार तथा व्यवसाय गर्ने नाममा ३६ जनाबाट ऋण लिएर भागेको खुलेको छ । घिमिरले ४ हजारदेखि ७ लाख रुपैयाँसम्म एउटै व्यक्ति र संस्थाबाट ऋण लिएर भागेका थिए । घिमिरेले स्थानीय भद्रकला घिमिरेको ७ लाख, हरीप्रसाद चौंलागाईको ४ लाख ८५ हजार, पुनम लुङगेलीको ४ लाख, सुभद्रा राजवंशीबाट ३ लाख ४० हजार, दुर्गा गौतमबाट ३ लाख, इन्द्रमाया लिम्बूबाट २ लाख ४० हजार, तेजकुमारी बराइलीबाट १ लाख ८० हजार, नर्वदा राजवंशीबाट १ लाख १५ हजार,  हीरा राजवंशीबाट १ लाख १५ हजार, ज्ञानेन्द्र रिजालबाट १ लाख झ्वाम पारेका छन् ।

त्यस्तै जीवन विकास लघुवित्तबाट २ लाख ८० हजार, चारआली सहकारी संस्थाबाट १ लाख ५० हजार, इनफिनिटि लघुवित्तबाट १ लाख, कन्काई सहकारी संस्थाबाट १ लाख २ हजार ५ सय ९३ ऋण लिएका थिए । अन्य दर्जनौंबाट व्यक्ति तथा संस्थबाट ४ हजारदेखि १ लाख रुपैयाँसम्म ऋण लिएर भागेको खुलेको छ ।

घिमिरेले आफ्नो रकम फिर्ता नगरेपछि पीडितले रकम फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका थिए । उजुरीपछि यस्तो रहस्य खुलेको हो । उजुरीपछि प्रहरीले घिमिरेलाई इलामबाट केही दिनअघि ‍पक्राउ गरेर झापा इलाका प्रहरी कार्यालय धुलाबारी बुझाएको थियो । इलामका प्रहरी कार्यालय धुलाबारीले पनि छलफलका लागि घिमिरेलाई मेचीनगर १४ नम्बर वडा कार्यालयमा जिम्मा लगाएको थियो ।

वडा कार्यालयले पीडित समेतको उपस्थितीमा छलफल गरी आगामी २०७७ असोजभित्र साँवा रकममा चलनचल्तीको व्याजदरमा सम्पूर्ण रकम किस्ताबन्दीमा फिर्ता गरिसक्ने गरी कार्यालयकै रोहबरमा कपाली तमसुक गरी घिमिरेलाई छाडिएको जनाइएको छ ।

तमसुकमा घिमिरेले २०७६ असोजदेखि ०७७ असोजसम्म आफूले लिएको ऋण साँवा र ब्याजसहित तिर्न नसके आफ्नो पैत्रिक सम्पतिबाट असुल उपर गरिलिनु भनी कपाली तमसुकमा सहीछाप गरी छुटेको वडा अध्यक्ष शंकरप्रसाद पोखरेलले बताए ।

‘घिमिरेले पहिलेदेखि नै व्यापार व्यवसाय गर्ने नाममा विभिन्न वित्तीय संस्था, सहकारी संस्था तथा व्यक्तिबाट ऋण लिएको रहेछ । जब उनी झापाबाट भागेर इलाम गए । त्यसपछि मात्र ऋणदाताले थाहा पाएछन्’ वडा अध्यक्ष पोखरेलले भने, ‘पीडितहरु आफ्नो कार्यालय आएपछि मलाई थाहा भयो । एक वर्षको म्याद दिएर कपाली तमसुकब गरेर पठाएका छौं ।’

कर्तुत ढाकछोप गर्न नक्कली पुजारी

झमकबहादुर घिमिरे आफ्नो यतिका धेरै कर्तुत ढाकछोप गर्न स्वघोषित नक्कली पुजारी भएको खुलेको छ । उनी गत कात्तिक १ गतेदेखि घर नजिकैको खोल्सीमा आफूमा पाथीभरा माताको शक्ति आएको भन्दै तपश्याको नाटक गरेका थिए । आफूमा विभिन्न देवताको दैविक शक्ति आएको भन्दै स्थानीयलाई भ्रममा समेत पारेका थिए ।

केही वर्ष अघि छिमेकीको घरमा चोरी गरेको आरोपमा उनी पक्राउ समेत परेका स्थानीयले बताएका छन् । त्यपछि इलामबाट झापा बसाइसरी गएका घिमिरेले झापामा समेत ५७ लाख झ्वाम पारेर इलाम आएका हुन् ।

नाग निकाल्ने भन्दै हज्जारौंलाई वेवकुफ बनाएका थिए

कात्तिक १ मा घिमिरेले हज्जारौं जिल्लाबासीलाई बेवकुफ बनाएका थिए । दिउँसो १२ बजे नाग निकाल्ने र दर्शन गराउँने ठोकुवा गरेपछी हज्जारौं इलामबासी भेला भए । तर घिमिरेले नाग निकाल्न नसकेपछी स्थानियले आक्रमणको प्रयास गरेका थिए । झुटो प्रचार गरेको भन्दै स्थानीय उनीविरुद्ध खनिएका थिए ।  असुरक्षाको कारण भन्दै प्रहरीले घिमिरेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।  त्यति बेलादेखि नै उनको विगतको कर्तुत खोज्न सुरु गरिएको थियो ।

कथित माईली पाथीभराको नाममा भ्रम

पक्राउपछि पनि घिमिरेले भ्रम छर्न छाडेनन् । प्रहरीबाट छुट्नसाथ उनले नजिककैको खोल्सीलाई कथित ‘माईली पाथीभरा’ को नामाङ्करण गरे । ताप्लेजुङको पवित्र पाथीभरा मन्दिरको अवहेलना गर्दै माईली पाथीभरा बनाएको खुलेको छ । त्यहाँका केही स्थानीयले ‘पाथीभरा संरक्षण समिति’ नै गठन गरी घिमिरेको प्रचारमा लागेका थिए ।

तर घिमिरेको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेपछि समिति समेत सशंकित बनेको छ । पाथीभरा संरक्षण समितिका सचिव सूर्य रिजालले पुजारी घिमिरेको पछिल्लो कर्तुत सार्वजनिक भएपछि समितिको बैठक नै बोलाएका छन् । ‘पुजारी घिमिरेको विषयमा उठेको प्रश्नमा छलफल गर्न ७ बैखासमा समितिको बैठक बोलाएका छौं’ समितिका सचिव रिजालले नयाँ बुलन्दसँग भने, ‘व्यक्तिगत रुपमा केही भन्न सक्दिन तर समितिको बैठकले पुजारीको सम्बन्धमा उचित निर्णय गर्नेछ ।’

घिमिरेको विषयमा सामाजिक संजालमा समेत विरोध हुन थालेको छ । ताप्लेजुङको पाथीभरा देवीको नाम जोडेका घिमिरेले पाथीभराकै खिल्ली उडाएको भन्दै सामाजिक संजालमा घिमिरेको चर्को विरोध भइरहेको छ ।

यसअघिका यी समाचार पनि पढ्नुहोस् :

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार