इलाम : इलामका एक व्यक्तिले हज्जारौं जिल्लाबासीलाई बेकुफ बनाएका छन् । विगत ७ दिनदेखि तपस्यमा बसेका इलाम नगरपालिका ४ धारापानीका झमकबहादुर घिमिरेले नागको दर्शन गराउने भनी प्रचार गरे । जिल्लाबासीले पनि पत्याइहाले । नाग हेर्नकै लागि बुधबार धारापानीमा हज्जारौंको भीड लाग्यो ।
तर नत जिल्लाबासीले नाग दर्शन गर्न नै पाए, न त घिमिरेको तपस्याले निरन्तरता नै पायो । घिमिरले भने अनुसारको नाग हेर्न भनी हज्जारौंको संख्यामा जिल्लाबासी घिमिरे तपस्या बसेको धारापानीमा भेला भए । विहानैदेखि १२ बजेको प्रतिक्षामा जिल्लाबासी भए । जब १२ बज्यो नाग निस्किएन । घिमिरेले दावी गरेको पूरा भएन । जिल्लाबासी जिल्ल त भएन नै, घिमिरेको तपस्या पनि अन्त्य भयो ।
१२ बजे नाग ननिस्किएपछि घुँडासम्म हिलोमा गाडिएका घिमिरे हिलोबाट निस्ने र भने, ‘होहल्लका कारण नाग निस्कन मान्नुभएन । गेटसम्म आउनुभयो, तर बाहिरन आउन मान्नुभएन । कृपया भक्तजनहरु शान्त भएर बसिदिनुहोला । आज, भोलि वा पर्सी कुनै दिन अवश्य दर्शन गर्न सक्नुहुनेछ ।’
यति भनिसक्दा स्थानीय भीडबाट घिमिरेको विरोध सुरु भयो । गलत प्रचारबाजी गरेको भन्दै विरोधको चर्को आवमज सुरु भयो । भीड आक्रोशित बन्दै गयो । भीडले घिमिरेपलाई विभिन्न प्रश्नहरु तेर्साउन थाल्यो । घिमिरेको जवाफ थियो ‘होहल्लका कारण अहिले नाग निस्कन मान्नुभएन । मलाई ५ फिट गाडेर गौमाता बाँधिदिनुभएमा मात्र नागको दर्शन गर्न पाउनुहुनेछ । नत्र आज दर्शन पाउनुहुन्न । भोलि वा पर्सी अवस्य दर्शन गर्न पाउनुहुनेछ ।’
यति भनिसक्दा अझै हामीलाई बेखुब बनाउने ? भन्दै आक्रोशित आवाज आउन थाल्यो । नाग दर्शन गर्न उपस्थित हज्जारौं भीड अनियन्त्रित हुन थाल्यो । स्थानीयलाई बेखुब बनाएको भन्दै व्यापक विरोध सुरु भयो । नागको जसरी पनि दर्शन गर्न पाउनुपर्छ नत्र घिमिरेलाई कारवाही गर्नुपर्छ भनी आवाज आउन थालेपछि स्थिती तनावग्रस्त बन्यो ।
नाग दर्शन होइन, उल्टै प्रहरी खोरमा
नाग दर्शन गराउन नसकेपछि घिमिरे प्रहरी खोरमा परेका छन् । दावी गरेको पूरा नभएपछि घिमिरेमाथि नै आक्रमण हुने सम्भावना बढेको संकेत पाएपछी प्रहरीले उनलाई नियन्त्रणमा लियो । घिमिरेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलयतर्फ हिँडायो । स्थानीयले नागको दर्शन गर्न नपाएपछी आक्रोशित भीडबाट बचाउन प्रहरीले नियन्त्रमा लिएको जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।
७ दिनदेखि तपस्यामा थिए घिमिरे
धारापानीमा माइली पाथीभरा देवीको स्थापना गर्ने भन्दै घिमिरले गत १ कात्तिकदेखि तपस्यामा बसेका थिए । उनी आफूमा विभिन्न देवताको दैविक शक्ति आएको भन्दै ध्यानमा बसेका थिए । सपनामा आफूलाई देवीले पटकपटक यो स्थानमा ध्यानमा बस्न आग्रह गरेकोले आफु २४ सैं घण्टा ध्यानमा बसेको घिमिरेले बताएका थिए । उनी दूध र फलफूल मात्र खाएर तपस्यामा थिए ।
विगत लामो समयदेखि झापामा व्यवसाय गर्दै आएका उनले घर परिवार, व्यवसाय सबै छाडेर ध्यानमा लागेको दाबी समेत गरेका थिए । त्यहाँ पुगेका सर्वसाधरणलाई बुधबार दिउँसो १२ बजे मेग गर्जन सहित पानी पर्ने, विभिन्न चराचुरुङी आउने र नाग समेत निस्कने भन्दै हेर्न आउन आग्रह गरेका थिए । घिमिरे ध्यानमा बसेसँगै उनलाई हेर्न आउने सवसाधरणको घुइँचो लागेको थियो ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस् :
https://m.facebook.com/story.php?story_fbid=331263970758949&id=547423482097116