आसफोर्ड (बेलायत) : लिम्बू पत्रकार संघ यूकेले आफ्नो पहिलो अधिवेशन अगष्ट महिनामा गर्ने निर्णय गरेको छ । आसफोर्डमा बसेको सङ्घको बैठकले समिति पुनःगठन गर्दै अधिवेशन गर्ने निर्णय गरेको हो ।
यूके संयोजक अमित थेवेको अध्यक्षतामा बसेको बैठकले सङ्घलाई विस्तार गर्दै १७ सदस्यीय समिति पनि बनाएको छ । समितिका सदस्यहरूमा विमला सेने, खुशी तावा, विश्वासदीप तिगेला, नगेन्द्र नेम्वाङ, सुरेन्द्र इङ्नाम, विष्णु चोङवाङ, जानुका काम्वाङ लिङ्देन, छत्र वनेम, डम्मर सिङ्गक, सुदीप थोप्रा, लाहाङ चेम्जोङ, महेश वनेम, सिर्जना निङ्लेकू, विमला सिगू लक्सम, कृष्णकुमार हेम्ब्या, मिजास तेम्बे रहेका छन् ।
यसैगरी, सङ्घले यहीँ आउँदो अप्रिल २२ तारिखका दिन आफ्नो स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ । यसका लागि सचिवालयले कार्यक्रम तय गर्ने संयोजक थेवेले बताए । सङ्घको स्थापना सन् २०१७ अप्रिल २२ मा भएको थियो । उनले सङ्घले निकट भविष्यमा मिडिया तालिम सञ्चालन, स्मारिका प्रकाशन, वेभसाइट निर्माण गर्ने तयारी समेत गर्न लागेको जानकारी गराए ।
यस्तै, नेपाल आदिवासी जनजाति महासङ्घ, यूकेले अगष्ट २५ मा विश्व आदिवासी दिवसका अवसर पारेर आयोजना गर्न लागेको बृहत सभामा सङ्घले सञ्चार क्षेत्रमा क्रियाशील लिम्बु समुदायका एक व्यक्तित्वलाई निमन्त्रणा गर्ने निर्णय गरेको छ । बैठकमा आदिवासी जनजाति पत्रकार सङ्घ(फोनिज), यूकेका महासचिव खुशी तावा, पूर्व अध्यक्ष विश्वासदीप तिगेला, लिपसं सदस्य सुरेन्द्र इङ्नाम, लाहाङ चेम्जोङ, सिर्जना निङ्लेकू, जितेन्द्र चेम्जोङ लगायत उपस्थित थिए । लिम्बु पत्रकार सङ्घ फोनिजको एक महत्वपूर्ण घटकका रूपमा रहेको महासचिव तावाले बैठकमा बताए ।