माईभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा (फोटो/भिडियो सहित)

इलाम सदरमुकाममा सञ्चालन हुन लागेको माईभ्याली गोल्डकपमा दर्शकका लागि निर्माण गरिएको बाँसको प्यारापिट । तस्विर : राम योङहाङ

इलाम : इलाममा सञ्चालन हुन लागेको पाचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । जिल्लामा हरेक वर्ष महासंग्रामको रुपमा आयोजना गरिने गोल्डकपको धमाधम तयारी भइरहेको हो ।

२६ फागुनदेखि ६ चैतसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम सम्पन्न भएको छ । करिब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भईरहेको आयोजक माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरको अध्यक्ष चम्जोङले बताए । मैदानको माथिल्लो भागमा माटोको प्यारापिट भएपनि तीनतिरको भागमा वर्सेनि बाँसको प्यारापिट निर्माण गर्नुपर्ने बाध्यता छ । श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ । जसका कारण हरेक वर्ष प्यारापिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ ।

यसवर्ष १० लाख रुपैयाँ खर्चेर प्यारापिट निर्माण गरिएको छ । दुई हजार आठ सय घना बाँस खरिद गरेर प्यारापिट निर्माण गरिएको हो । बाँसको प्यारापिटमा क्लबले वर्षेनी लाखौं खर्चिदै आएको छ । विगतका ४ वर्षमा बाँसको प्यारापिट निर्माणमा मात्र ३२ लाख बढि रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

एकपटक प्रयोग भएको बाँस अर्को पटक काम नलाग्ने हुँदा बर्सेनि ठूलो परिमाणमा किन्नुपर्ने बाध्यता छ । प्रतियोगिता सकिएपछि लाखौं खर्चेर किनेको बाँस कौडीको मूल्यमा बेच्ने गरेको आयोजकको भनाइ छ ।

यस संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहनेछ । यसपटक दाउफिन्स क्लब क्यामरुन, नेपाल फूटबल एकाडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाडौं, थ्रीस्टार क्लब ललितपुर, दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फूटबल क्लबको सहभागिता रहनेछ ।

विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार