‘उपभोक्ताहरु मूल्य, गुणस्तर र नापतौलबाट सधैं ठगिँदै आएका छन्’

इलाम : विभिन्न वस्तुहरुमा उपभोक्ताहरु ठगिदंै आएको इलाम सदरमुकाममा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।

वाणिज्य आपूर्ती व्यबस्थापन तथा उपभोक्ता संरक्षण विभाग र कञ्जुमर आई नेपालले संयुक्त रुपमा आयोजना गरेको उपभोक्ता जागरण गोष्ठीका सहभागीले उपभोक्ताहरु ठगिदैं आएपनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको गुनासो गरे ।

कार्यक्रममा कञ्जुमर आई नेपालका केन्द्रिय अध्यक्ष विमला खनालले मूल्य, गुणस्तर र नापतौलबाट उपभोक्ताहरु सधैं ठगिर्दै आएको बताउँदै अपभोक्ताहरु चनाखो हुनुपर्नेमा जोड दिइन् । उनले बजारमा एकाधिकार व्यापारिक क्रियाकलाप, कानुनद्वारा निषेधित र अनुचित व्यापारिक क्रियाकलाप रहेकाले यसको समाधानका निम्ति बजार अनुगमनको व्यवस्थालाई प्रभावकारी ढंगले सम्बन्धित निकायले कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । खनालले हाटबजारलाई व्यवस्थित बनाउनुपर्ने पनि उल्लेख गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले उपभोक्ताको हक र अधिकार संरक्षणका लागि सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताए । उनले त्यसका लागि आफूले स्थानीय तहसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाए ।

सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले उपभोक्ता जागरणमा इलाम जिल्ला अब्बल भएपनि बेलाबेलामा अनुगमन भइरहेको बताए । उनले उपभोक्ताहरुबाट आएका गुनासाहरुको समाधान गर्न आफूहरु सधैं तत्पर रहेको बताए । प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले एलपी ग्याँस प्रयोगको बारेमा उपभोक्ताहरुमा सचेतना जगाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीले इलाममा बजार अनुगमन फितलो रहेको जनाउँदै उपभोक्ताहरु हरेक ठाउँमा ठगिदैं आएको र अखाद्यय वस्तुहरु खान बाध्य भइरहेको गुनासो गरे । बिचौलियाबाट पनि उपभोक्ताहरु नराम्ररी ठगिएको बताउँदै उनले सम्बन्धित पक्षहरुले तयारी रहेका खाद्यय पदार्थ कति उचित–अनुचित लगायतका बारेमा सचेतना जनाउनु पर्नेमा जोड दिए ।

उपभोक्ता जागरण गोष्ठी बिषयक शीर्षकमा ग्याँस सिलिण्डरको गुणस्तर र उपभोक्ता अधिकार एवं आयोडिनको महत्व र उपभोक्ता अधिकार विषयमा कार्यक्रम भएका थिए । सो क्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका प्रबन्ध निर्देशक बृजेशकुमार झाले देशमा आयोडिनयुक्त नुनको प्रयोग ६४ प्रतिशत भइरहेपनि पूर्वमा मात्र २९ प्रतिशतले मात्र आयोडिनयुक्त नुनको प्रयोग गर्दै आएको बताए । पूर्वमा अझै पनि खुल्ला (ढिके) नुनको प्रयोग भइरहेकाले यसको प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै आयोडिनयुक्त नुनकै प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका वरिष्ठ कृषि विकास अधिकृत रामश्वगरात शाह, इलाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष इश्वर चिपाल, व्यवसायी मिलन खत्री, दीपेन्द्र चापागाई, प्रकाश परियारले उपभोक्ता हितका सम्बन्धमा विभिन्न सुझाव राखेका थिए ।

कञ्जुमर आई नेपालका केन्द्रिय अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, उद्योगी, व्यवसायी एवं संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

कञ्जुमर आई नेपालका केन्द्रियसदस्य रञ्जन खनालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार