इलाम : दुई लाख ७० हजारलाई इलाममा आठौं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । जिल्लाका सम्पूर्ण स्थानिय तहमा आउँदो फागुन १५ गतेबाट एकै साथ औषधी खुवाइने तयारी गरिएको छ ।
इलाम नगरपालिका स्वास्थ्य शाखाका अनुसार, छ पटक औषधी खुवाउने कार्यक्रम अन्तरगत जिल्लामा सन् २०१२ बाट यो कार्यक्रम सुरु भएको हो । तर सातौं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परे पछि आठौं पटक अर्थात अन्तिम पटक औषधी खुवाउन लागेको बताइएको छ ।
हात्तीपाइले रोगको निवारण भएको घोषणा गर्न रोगीको संख्या एक प्रतिशत भन्दा कम हुनु पर्छ । यो प्रतिशत पुरा नभएकाले जिल्लामा अन्तिम पटक यसको औषधी खुवाउन लागेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य अधिकृत मुरारीप्रसाद देवले बताए ।
संक्रमण हुन सक्ने जोखिम सबैमा भएकाले सम्पूर्ण जिल्लाबासीले यस पटकको पनि औषधी खान आवश्यक छ । इलाममा २ प्रतिशत भन्दा बढीमा रोगको संक्रमण देखिएको छ । यसलाई शुन्यमा ल्याउनका लागि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान जिल्लाका दशै वटा स्थानीय तहले औषधी खुवाउने तयारी गरेको छ ।
यसका लागि चेतनामूलक कार्यक्रमहरु समेत जिल्लाले गरीरहेको छ । यो औषधि २ वर्षमुनीका बालबालिका, ७० वर्ष माथिका जेष्ठ नागरिक, गर्भवती महिला, दिर्घ रोगीले खान नहुने बताइएको छ । यस बाहेकका अन्यले भने स्वास्थ्यकर्मीको सहयोगमा सबैले अनिवार्य खानु पर्ने अधिकृत देवले बताए । गत वर्ष भने इलाममा ९१ दशमलव ५ प्रतिशतले हात्तीपाइले रोग विरुद्धको औषधी खाएका थिए ।