सिक्तेम्बा, कुरुम्बा, आयोजक, चिवुवा र सामाटार क्वाटरफाइनलमा

गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा मंगलबार पनि पाँच खेल सम्पन्न भएका छन् ।

मंगलबारको खेलबाट सिक्तेम्बा बी, थुमथुमे कुरुम्बा, आयोजक फाल्गुनन्द विकास संस्था ए, चिवुवा ए र सामाटार विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा केराबारीलाई ३–० ले पराजित गर्दै सिक्तेम्बा बी, दोश्रो खेलमा  चतुरेलाई २–१ ले पराजित गर्दै चुमथुमे कुरुम्बा, तेश्रो खेलमा ढुङ्गेलाई २–१ ले पराजित गर्दै आयोजक फाल्गुनन्द विकास संस्था ए, चौथो खेलमा लाक्तापालाई ३-२ ले पराजित गर्दै चिवुवा ए र अन्तिम खेलमा चिवुवा बीलाई ३-१ ले पराजित गर्दै सामाटार विजेता बन्यो ।

प्रतियोगिता अन्तरगत बुधबार क्वार्टरफाइनल चरणका खेल हुनेछन् । क्वार्टरफाइनलको पहिलो खेलमा मानपुर एफसी र सिक्तेम्बा ए, दोस्रो खेलमा सोगात युवाक्लब सिङलाबु र सिक्तेम्बा बी, तेस्रो खेलमा आयोजक फाल्गुनन्द विकास संस्था ए र चिवुवा ए तथा अन्तिम खेलमा थुमथुमे कुरुम्बा र सामाटारबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

स्थानीय फाल्गुनन्द विकास संस्थाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीले समेत मेडल र प्रमाणपत्र पाउनेछन् । ३० कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न ३२ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगिता स्थानीय गुरुङगाउँ खेलमैदानमा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार