फूलले मूल्य नपाउँदा किसान मर्कामा

इलाम : इलाममा फूलले मूल्य नपाउदा किसान मर्कामा परेका छन् । चाडपर्व लक्षित गरी रोपेका फूल विक्रीका लागी व्यवसायीले बजारमै ल्याउदा समेत विक्रीमा समस्या भएको फूल व्यवसायीहरुको दुखेसो छ ।

बारीका फूल बजारमा नै ल्याएर १० रुपैया मुठो विक्री गर्दा समेत विक्री हुन नसकेको इलाम नगरपालिका वडा नम्बर १० का ६२ वर्षिय फूल व्यवसायी धनमाया अछामेले बताइन् ।

उहाँले भनन् ि‘यही दरका फूलका मुठा गतवर्ष ८० रुपैयाका दरले विक्री गरेको थिए ।’ भाईटिकाका दिन त मुठोको १०० रुपैयाका दरले भाऊ लागेको थियो । तर यस वर्ष भने फूल बोकेर बजार आउदा लागेको गाडीभाडा उठाउन पनि मुस्किल परेको व्यवसायी अछामेले गुनासो गरिन् । उनका अनुसार एक मुठोमा एउटा फूलको माला बन्ने फूलका थुङ्गा हुन्छन् ।

अछामेलाई जस्तै पिर छ, यसै वर्ष फूलखेतीमा लाग्नु भएका इलाम नगरपालिका वडा नम्बर ४ बरबोटेका किसान गणेश निरौलालाई पनि । बजारमा फूलले मूल्य नपाउदा बारीमा फूलेका फूललाई कसरी विक्री गर्ने भन्ने पिर बढेर गएको किसान निरौला बताउँछन् । गतवर्ष फूलको अभावको समस्या भएकै कारण यस वर्ष उनले बारीभरी फूल रोपेका थिए ।

‘गएका वर्ष भन्दा यस वर्ष माग कम फूल उत्पादनमा वृद्धि भएकाले बजारमा फूलको मूल्यमा गिरावट आएकै हो’ फूलसम्बन्धि जानकार प्राज्ञडा. योगेन्द्रमान श्रेष्ठले बताए । उनका अनुसार गएका धेरै वर्ष फूलमा रोगको संक्रमण देखा पर्नु, फूल अभाव टार्न धेरै किसान फूलखेतीमा आकर्षित हुनु र रोग संक्रमणको चक्र पूरा भई उत्पादनमा वृद्धि आउनु जस्ता कारणले फूल उत्पादनमा वृद्धि भएकाले मूल्यमा समस्या देखा परेको हो ।

इलाममा २०६१ सालमा फूल खेतीमा रोगको संक्रमण भएकाले भारतबाट आयत गर्नु परेको थियो । तर अहिले जिल्ला फूल खेतीमा आत्मनिर्भर भईसकेको छ । गतसाल किसानले उत्पादन गरेको फूलले बजारको ८० प्रतिशत माग पूरा गरेको हरितनगर महिला समूहका अध्यक्ष रीना घिमिरेले जानकारी दिए । गएको वर्ष इलाम सदरमुकाममा मात्रै दुई लाखको कारोबार भएको थियो । बजारमा जिल्लाका साविक गोदक, सुम्बेक, नामसालिङ्ग, सोयाङ्ग, बरबोटे लगायतका स्थानबाट फूल आउने गरेको पाइएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति इलामको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म २० वटा फूल नर्सरी उद्योग दर्ता भएका छन् । जसमा फूल खेतीका लागी मात्रै १० उद्योग दर्तामा छन् । यी मध्ये सबै भन्दा धेरै जिल्लाको सुर्योदय नगरपालिकामा छन् भने सबै भन्दा कम माङ्गसेबुङ्ग गाउँपालिकामा रहेको समितिका नायब सुब्बा खड्ग बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार