इलामका ५० प्रतिशत महिला जिल्ला बाहिरबाटै प्रसुति गराउँदै

  सुजता सुनुवार
0 Shares

इलाम : इलामका ५० प्रतिशत महिला जिल्ला बाहिरबाट नै प्रसुती गराउने गरेको पाईएको छ । जिल्लामा कलिलै उमेरमा आमा बन्नेहरुको संख्या उल्लेख्य रहेकाले जोखिम बढी भएका कारण जिल्ला बाहिरबाट सेवा लिनेको संख्या बढी भएको पाइएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामका पब्लिक हेल्थ नर्स अधिकृत सरीता सुब्बाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने ८० प्रतिशत महिला मध्ये ५० प्रतिशत महिलाहरु जिल्ला बाहिरका अस्पतालबाट प्रसुती सेवा लिने गरेको पाइएको बताइन् ।

उनका अनुसार स्वास्थ्य जाँच गराएका मध्ये ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिने गरेका छन् । जिल्ला बाहिर प्रसुती गराउन महिलाहरु झापाको लाईफ लाइन, आम्दा, बिएण्डसि लगायतका अस्पतालमा बढी मात्रामा पुग्ने गरेको जनाइएको छ । कम उमेरमा आमा बन्ने अधिकाँश महिलाको शल्यक्रियाबाट प्रसुती गराउनुपर्ने जोखिमका कारण पनि जिल्ला बाहिरबाट सेवा लिनेको संख्या बढी देखिएको हो ।

५० शैयाको इलाम अस्पतालमा यतिबेला दक्ष डाक्टरको अभाव कायमै छ । यसले समेत संख्या वृद्धिमा सहयोग पु¥याएको हुनसक्ने नर्स अधिकृत सुब्बाले बताइन् । इलाम अस्पतालमा ६४ जनाको दरबन्दीमा अहिले ३४ दरबन्दी रिक्त रहेको इलाम अस्पताल प्रशासन कार्यलयका नायव सुब्बा रीता अधिकारीले जानकारी दिइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा २० वर्ष भन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलो पटक गर्भ जाँच गराएका छन् । यी मध्ये ३ सय ३ जना महिलाले मात्र इलामका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएका छन् । ४ सय ४७ ले जिल्ला बाहिरबाट प्रसुती सेवा लिएका पाइएको छ ।

सोहि आर्थिक वर्षमा २० वर्ष भन्दा बढि उमेर समूहका २ हजार १ सय जना महिलाले पहिलो गर्भ जाँच गराएका थिए । जिल्लामा जम्मा १ हजार ४ सय ४६ जना महिलाले इलाम अस्पताल सहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिइएका पाईएको छ भने इलाम अस्पतालबाट मात्रै ९ सय ३४ जनाले प्रसुती सेवा लिएका पाएइको छ ।

यस्तै अघिल्लो आवमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको सङख्या जिल्लामा ३ सय ३३ जना र सो उमेर माथिको सङख्या २ हजार १ सय २६ जना रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार