
इलाम : नयाँ सरकार गठनपछि देशभर यातायात कार्यालयहरूमा बिचौलियामाथि कडाइ गर्दै धमाधम पक्राउ गर्ने क्रम बढेपछि यसको प्रभाव इलाममा समेत स्पष्ट देखिएको छ । इलामस्थित यातायात व्यवस्था कार्यालय परिसर वरपर सञ्चालनमा रहेका लेखापढी व्यवसायका काउन्टरहरू केही दिनयता बन्द देखिएका छन् ।

विगतमा सेवाग्राहीको भीडले भरिभराउ हुने उक्त क्षेत्र अहिले सुनसानजस्तै बनेको छ। दर्जनौँको संख्यामा रहेका काउन्टरमध्ये हाल १/२ वटा बाहेक अधिकांश बन्द अवस्थामा रहेका छन्।
यस परिवर्तनले सेवाग्राहीमा भने फरक अनुभव देखिएको छ।

पाँचथरबाट मोटरसाइकल पास गर्न इलाम आइपुगेका रोशन लिम्बुले यसपटक आफूले कुनै पनि बिचौलियाको सहयोग बिना नै काम सम्पन्न गरेको बताए । “अरुबेला यहाँ आउँदा ‘म गरिदिन्छु’ भन्नेहरू घेरिन्थे, तर आज त्यस्तो कोही भेटिएन। आफैले काम गर्दा झन् छिटो भयो, कसैलाई अतिरिक्त शुल्क पनि तिर्नुपरेन ” उनले भने ।

तर विगतमा भने बिचौलियाका कारण सेवाग्राही ठगिने घटनाहरू पनि हुने गरेका थिए । इलाम धोबिधाराका स्थानीय पंकज भट्टराईले आफू नै बिचौलियामार्फत ठगिएको गुनासो गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ सय रुपैयाँ पर्ने काममा १ हजार रुपैयाँ थप तिर्नुपरेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न माग समेत गरे ।

यता यातायात ब्यबसथा सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र प्रसाद मैनालीले सेवाग्राहीलाई आफैँले काम गर्न आग्रह गरेका छन । उनले भने, “सेवाग्राहीले अरूको भर नपरी आफ्नो काम आफैले गर्न सक्ने वातावरण हामिले इलाममा बनाएका छौ । आफ्नो काम आफै गर्नुहोस् अरुलाई नलगाउनुहोला , हामी त्यो अनुरुप शेवाग्राहिलाई छिटो छरितो सेवा दिने गरि काम गरिरहेका छौ ।”
साथै, उनले कसैले अनावश्यक झन्झट दिए वा कर्मचारीबाट ढिलासुस्ती भएमा तुरुन्त कार्यालयलाई जानकारी गराउन समेत अनुरोध गरेका छन ।

बिचौलिया नियन्त्रणको अभियानले सेवामा पारदर्शिता, सहजता र विश्वास बढाउने अपेक्षा गरिएको छ। स्थानीयवासी र सेवाग्राहीले यसलाई सकारात्मक कदमका रूपमा लिँदै यस्तो अभियान दीर्घकालीन रूपमा निरन्तर रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।



















































