एकसय पन्ध्र बर्षदेखि इलाममा लाखे नाच

इलाम : इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच इलाममा शुरु भएको एकसय पन्ध्र बर्ष पुगेको छ । इलाम बजारमा काठमाडौंबाट केहि नेवार समुदाय १९६० सालमा बसाई सरी आएसंगै उनीहरुले आफनो कला संस्कृतिलाई इलाममा पनि सुरु गरेका थिए ।

यहाँ नेवार समुदाय आएदेखि नै इलाममा लाखे नाच सुरु भएको नेवार समुदायका अगुवाहरु बताउँछन् । तर जिल्लामा कसले यो नाच भित्राएको भन्ने बारेमा चाँहि अहिलेसम्म पत्ता लाग्न नसकेको बताइएको छ । इलाम बजारमा १९६० सालबाट सुरु भएको लाखे नाच एक÷डेढबर्षपछि नजिकैको फिक्कल बजारमा पनि सुरु भएको थियो । यो नाच संगै रोपाइँजात्रा पर्व समेत मनाउँदै आएका थिए । रोपाइजात्रा पर्व अहिले जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै बनेको छ । इलामका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि लाखे नाच तथा रोपाईजात्रा पर्व सबैको साझा सम्पत्ति भएको इलामका इतिहासबिद तथा नेवा दे दवुका अध्यक्ष युद्धप्रसाद बैद्यले बताए ।

‘नेवार समुदायको मात्र पर्व मानिने लाखे नाच इलामको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व बनेको छ’ बैद्यले भने ‘नेवार समुदायमा प्रचलित लाखे नाच इलाममा निकै लोकप्रिय भएपनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको छ ।’
प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन नेप्वार समुदायले गठेमङ्गल पर्व मनाउने गर्दछन् ।

त्यसपछि नागपञ्चमिबाट इलाममा लाखे नाच निकालिँदै आएको छ । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम इलाम बजार र फिक्कल बजारमा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भएपनि मौलिक बन्न नसकेको सरोकारवाला बताउँछन् । विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाच पछिल्लो समय सम्बन्धित समुदायकै बेवास्ता र नेतृत्वको अभावमा लोप हुने हो कि भन्ने आशङ्का उत्पन्न हुन थालेको छ ।

जिल्लामा २००९ साल अघिसम्म स्वतस्फूर्त नेवार समुदायले लाखे नाचका साथै गाईजात्रा, रोपाईजात्रा पर्व मनाउँदै आएका थिए । २००९ साल पछि इलाम नेवार समाज गठन गरेर यो पर्वलाई अलिक ब्यबस्थित बनाएर मनाइँदै आएको र २०४८ सालबाट नेपाल भाषा तथा संस्कृति समाज संस्था नै जिल्लामा गठन गरेर संस्थागत रुपमा यो पर्व मनाईदै आएको बताइन्छ । तर बिगत केहि बर्षयता संस्थामा नेतृत्वको लागि मात्र हुने हानथाप, काम नगर्ने प्रबृत्ति, हिसाव किताब अपारदर्शि हुन थालेपछि सिंगो नेवार समुदायकै मौलिक संस्कृति लाखे नाच, रोपाइँजात्रा जस्ता पर्व संकटमा पर्दै गएको बैद्यको चिन्ता छ । जिल्लामा गाईजात्रा पछि मनाईने रोपाईजात्रा पर्व इलामेहरुले साझा संस्कृतिकै रुपमा लिने गरेका छन् ।

बिगतमा गाईजात्राको भोलिपल्ट नै रोपाईजात्रा पर्व मनाइने गरेपनि पछिल्लो केहि बर्षयता गाईजात्रा पछिको पहिलो बिहिबार हटियाको दिन पारेर रोपाईजात्रा निकालिँदै आएको छ । रोपाईजात्रा जिल्लामा नेवार समुदाय बढि बसोबास रहेको इलाम बजार सहित एकतप्पा, नामसालिङ्ग, फिक्कल, दानाबारी, जितपुरमा निकालिँदै आएको नेवार समुदायका अगुवाहरु बताउँछन् । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको पुराना बुढापाकाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार