ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमै अल्लोको कपडा उत्पादन हुन थालेको छ । सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा ढाका उद्योगले भर्खरैदेखि अल्लोको कपडा पनि उत्पादन गर्न थालेको हो ।
पछिल्लो समय अल्लो कपडाप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि यहिँ उत्पादन गर्न थालेको कञ्चनजङ्घा ढाका उद्योगकी सञ्चालक शान्ति मादेन लिम्बूले बताइन् ।
जिल्लामै पहिलो पटक कञ्चनजङ्घा ढाका उद्योगले अल्लोको कपडा उत्पादन गर्न थालेको सञ्चालक मादेनको दावी छ । करिव एक महिना अघिदेखि कपडा उत्पादन गर्न थालेको र अहिले उत्पादित अल्लोको कपडा बिक्री समेत गर्न थालेको उनले जानकारी दिइन् ।
केही समयअघि फुङ्लिङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला जागरण मञ्च नामक स्थानीय एक संस्थाले अल्लो कपडा बुनाइसम्बन्धी एक महिने तालिम सञ्चालन गरेको थियो । कञ्चनजङ्घा ढाका उद्योगमा सञ्चालन गरिएको उक्त अल्लो कपडासम्बन्धी तालिममा सीप सिकेका महिलाहरुको सहयोगबाट अहिले कपडा उत्पादन हुन थालेको मादेनले बताइन् ।
महिला जागरण मञ्चकी अध्यक्ष समेत रहेकी मादेनले अहिले आफ्नो उद्योगबाट ढाकाको कपडासँगै अल्लोको कपडा पनि धमाधम उत्पादन हुन थालेको बताए । संखुवासभादेखि अल्लोको धागो आयात गरी उद्योगबाट हाल कपडा उत्पादन गर्दै आएको उनले बताइन् । उनका अनुसार अहिले पुरुष तथा महिलाले लगाउने कोटको कपडा उत्पादन गर्दै आएको र एक थान कोटको कपडा चार हजारदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
अल्लो कपडा उत्पादन हुन भर्खरै सुरु भएको भए पनि खरिदकर्ताले मन पराएका उनको भनाइ छ । कोट बाहेक अन्य पोशाकहरुका क्रमशः अल्लोको कपडा उत्पादन गर्दै लैजाने तयारी रहेको उनले जानकारी दिइन् । उनले अल्लोको कपडाको बजार माग पनि राम्रै हुने सम्भावना देखेको बताइन् । सम्भावना हुँदाहुँदै पनि उद्योगबाट उत्पादित अल्लो तथा ढाकाको कपडाले बजार नपाउने अवस्था सिर्जना भएमा नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग विकास लगायतका कार्यालयले सहयोग गर्नुपर्ने उनको बुझाइ छ ।
उद्योग प्रवद्र्धनका लागि जिल्लास्थित घरेलु तथा साना उद्योग विकास कार्यालयबाट तालिम लगायतमा सहयोग पाइरहेको र आपूmहरुले उत्पादन गरेको वस्तु तथा सामग्रीको बजार व्यवस्थामा पनि सहयोग हुने कार्यालयको आश्वासन रहेको उनले जानकारी दिइन् । उत्पादित सबै वस्तु अर्थात अल्लो र ढाकाको कपडाल बजार पाएमा राम्रै आम्दानी पनि गर्न सकिने उनले बताइन् । आम्दानीसँगै उद्योगबाट केही सङ्ख्यामा महिलाहरुलाई रोजगारीको व्यवस्था समेत भएको उनको भनाइ छ ।