पर्याप्त वर्षा भए सम्भव हुन्छ ‘पानीको जोहो’

फिदिम : वर्षा सुरु भएपछि सुख्खाग्रस्त क्षेत्र कुम्मायकका स्थानीयवासी पानीको जोहो गर्न थालेका छन् । निरन्तर वर्षा भइदिए हिउँदभरीलाई पुग्ने पानीको जोहो गर्ने उनीहरुको तयारी छ । वर्षायाममा वर्षाका कारण पानीको समस्या केही हदसम्म समाधान हुने भएपनि हिउँदमा पानीको समस्या चरम हुने भएका कारण सुख्खाग्रस्त क्षेत्रका स्थानीय पानीको जोहो गर्न थालेका हुन ।

हिउँदको समयमा हुने पानीको अभाव पूर्ति गर्न उक्त क्षेत्रका स्थानीयवासीले वर्षातको पानी प्लाष्टिकका ड्रम तथा प्लाष्टिक पोखरी निर्माण गरेर गर्ने गरेका छन् । धेरैले बलेँसीको पानी ड्रम र प्लाष्टिक पोखरीमा जम्मा गर्ने गरेका छन् भने भल बग्ने स्थानमा स–साना पोखरी निर्माण गरि पानी संकलन गर्ने गरिएको छ । सुख्खाग्रस्त क्षेत्र यासोक, रानीगाँउ र स्याबरुम्बाका गाउँघरमा रहेका कुवा र धाराहरुमा क्रमशः पानीमा सुकेपछि वर्षातको पानीको भर पर्नुपर्ने बाध्यता स्थानीयको छ ।

व्यवसायीहरु वर्षातको पानी संकलन गरेरसिमित मात्रामा चलाउँदा ३/४ महिनासम्म पानीको अभाव पूर्ति हुने वताउँछन् । यसरी संकलन गरिएको पानीपिउने तथा खाना बनाउने बाहेक अन्य प्रयोजनमा प्रयोग हुने गरेको छ । कतिपयले त यसरी संकलन गरिएको पानी उमालेर पिउने गरेका छन् । अधिकांश घरहरूमा जस्तापाताको छानो भएका कारण बलेसीको पानी संकलन गर्न पनि सहज भएको छ ।

यस क्षेत्रका अधिकांशले वर्षाको पानी संकलनकै लागि जस्तापाताको छानो बनाउन थालेका छन् । खरले छाएको छानोमा भन्दा जस्तापाताले छाएको छानाबाट बलेसीमा मजाले बढी झर्ने र संकलन गर्न सहज हुने भएकाले जस्तापाताको प्रयोग बढेको हो । अधिकांश स्थानीयवासीले ५ सय लिटर भन्दा बढी पानी अट्ने ड्रम प्रयोग गरेका छन् ।

सडक पुग्ने क्षेत्रका स्थानीयवासीले खोलाको पानी खरिद गरेर प्रयोग गर्दै आएका छन् । विगतमा २ देखि ३ रुपैँया प्रतिलिटरमा पानी खरिद गर्दै आएका स्थानीयवासीको राहतका लागि कुम्मायक गाँउपालिकाले नै ट्याङ्कर खरिद गरि खानेपानी वितरण गर्दै आएको छ ।

गाँउपालिकाले प्रतिलिटर ६० पैसामा पानी वितरण गर्ने गरेको छ । यातायातको पहुँच नभएका स्थानीयवासीले भने घण्टौँ धाएर खानेपानी ल्याउने गरेका छन् । यस्तैपानी संकलनका लागि कुम्मायक गाउँपालिकाले साविकको प्रत्येक वडामा प्लाष्टिक पोखरी बनाउन पाँच ओटाका दरले प्लाष्टिक दिएको छ। ४० हजार लिटर पानी अट्ने क्षमताको प्लाष्टिक कृषक समूहहरूलाई दिएको हो ।

पानीको अल्पकालीन समस्या समाधानको विकल्प नै प्लाष्टिक पोखरी बनेपछि कृषक समूहहरूलाई छनौट गरी साझेदारीमा प्लास्टिक वितरण गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए। आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटसहितको नीति तथा कार्यक्रममा पनि खानेपानीअन्तर्गत प्लाष्टिक पोखरी निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको छ ।

गाउँपालिका अध्यक्ष चेम्जोङले प्लाष्टिक पोखरीले सामान्य करेसाबारीका लागि पानी सिञ्जित गर्नदेखि लिएर गाईवस्तुलाई पानी किनेर खुवाउनु पर्ने जटिल अवस्थाको अन्त्य हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार