नयाँ बुलन्द
इलाम : इलाम नगरपालिका ७ मा स्मार्ट सिटी बन्ने भएपछि सो क्षेत्रमा रहेको कृषि बजार हटाइएको छ । त्यहाँ रहेको कृषि बजार तत्कालका लागि आइतबारबाट सुनगाभा चोकमा रहेको सानो टँुडिखेलमा सारीएको छ ।
कृषि बजार सानो टुडिखेलमा सारीएपछि बिभिन्न खेलको प्रशिक्षण लिँदै आएका खेलाडीहरु भने विस्थापित भएका छन् । इलाम नगरपालिकाले जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिलाई जानकारी नै नगराई कृषि बजार सानो टुडिखेलमा सारेको जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष बृहस्पति उपरकुटीले बताए ।
खेलाडिका लागि प्रशिक्षण केन्द्रको अभाव भइरहँदा बिगत देखि नै सानो टुँडिखेलमा मार्सल आर्ट सम्बन्धिका कराँते, तेक्वान्दो, उस्सु सहित ब्याडमिटन खेलको प्रशिक्षण लिने खेलाडीहरु पूर्ण रुपले बिस्थापित भएको समितिकी कार्यालय प्रमुख अमृता घिमिरेले बताइन् । नगरपालिकाले विना जानकारी तथा खेलाडीका लागि वैकल्पिक प्रशिक्षण केन्द्रको व्यवस्था नगरीकन सानो टुडिखेलमा कृषि बजार राख्दा खेलाडीहरु प्रशिक्षण लिनबाट पूर्ण बञ्चित हुन पुगेको नगरपालिकाले भर्खरै गठन गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
नगरपालिकाले तत्काल खेलाडीलाई प्रशक्षिण गर्नका लागि ठाउँ उपलब्ध गराउनु पर्ने पनि उनको भनाई छ । यस विषयमा जिल्ला खेलकुद बिकास समिति र नगर खेलकुद बिकास समितिले मेयरसंग बसेर छलफल गर्ने जनाएको छ ।
अस्थायीका लागि नै भएपनि कृषि बजार राखिएको सानो टुडिखेलमा खानेपानी र शौचालको समेत अभाव रहेको छ । जसले गर्दा पनि सो क्षेत्रमा ब्यबसाय गर्नेका निकै ठूलो समस्या पर्ने निश्चित छ ।
इलाम माइजोगमाई गाउँपालिका ४ नामसालिङ्गबाट तरकारी बेच्न आइपुगेका दिलकुमार लिम्बूले आफूहरुलाई यहाँ बसेर तरकारी बेच्दा निकै समस्या भएको बताए । शौचालय नजिक नहँदा ट्याक्सी स्टेण्डमा रहेको सार्वजनिक शौचालय पुग्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
अहिले वर्खाको समय भएकाले पनि ब्यबसायिले सहज तरीकाले बसेर व्यवसाय गर्न समेत मुस्किल रहेको उनीहरु बताउँछन् । पानी पर्दा यो ठाउँ एकदमै हिलाम्ये हुँदा निकै समस्या हुने सानो टँुडिखेलमा तरकारी पसल राखेर बसेका व्यवसायीले बताए ।
यता इलामनगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भने कृषि बजार भएको स्थानमा नगरपालिकाले स्मार्ट सिटी बनाउने भएकाले तत्कालका लागि कृषि बजारलाई सानो टुँडिखेलमा राख्नु परेको बताए ।
नगरपालिकाले कृषि बजारका लागि जग्गाको खोजि गरीरहेकाले चाँडै सानो टुडिखेलबाट अर्कोतर्फ सारीने श्रेष्ठको भनाई छ ।