सुजता सुनुवार
इलाम : इलाम सिटी मार्ट भवन निमार्ण सुरु गरेसँगै इलाम बजारमा तरकारी व्यवसाय गरीरहेका ६० व्यवसायी विस्थापित भएका छन् । नगरपालिकालाई हटिया कर तिरेरै ६० व्यवसायीहरुले व्यवस्थित रुपमा तरकारी व्यवसाय गरीरहेका स्थान नै भत्काउन थालेपछि उनीहरु विस्थापित भएका हुन् ।
उनीहरुले जिल्लाको इलाम नगरपालिका वडा नम्बर ७ मा करिब आठ वर्षयताबाट व्यवस्थित तरिकाले तरकारी व्यवसाय गरीरहेका थिए । तरकारी व्यवसाय गरेरै जीविकोपार्जन गरीरहेका लक्ष्मण राई नगरपालिकाले यहाँबाट हटिहाल्न आदेश दिएकाले आफ्नो पुर्खौपुर्खा देखिको व्यवसाय संकटमा परेको गुनासो गर्नुहुन्छ ।
उहाँले भन्नु भयो, गएको एक साता भन्दा अगाडीबाट भवन निर्माण कार्य सुरु गरेको हो । गएको विहिबारबाट पुराना भवन भत्काउन , व्यवसायीहरुले लगाएका पाल हटाउन थालिएको छ । व्यवसायका लागी ल्याइएका तरकारी जन्य खाद्यपदार्थलाई अव्यस्थित तरिकाले राख्नु पर्ने वाध्यता भएका कारण हालसम्म ६० हजार भन्दा बढीको तरकारी नाश भएको राईले बताउनु भयो ।
नगरपालिकाका अनुसार , तरकारी व्यापारका लागी सदरमुकाममा सात रोपनी चारआना एक पैसा क्षेत्रफल इलाम नगरपालिकाले तरकारी बजारका लागी छुट्याइ दिएको छ । यही छुट्याएको जग्गामा रु पाँच सय हटिया कर तिरेर व्यवसाय सुरु गर्नु भएका राईले भन्नु भयो , अहिले हटिया कर मात्र रु तीन हजार तिर्ने सहमती भई व्यवसाय गरीरहेका थियौँ ।
नगरले जति हटिया कर लगाए पनि तिर्न हामी तयार थियौँ । तर नगरमा जादाँ हामीसँग खाली जमिन नै छैन ,कसरी हुन्छ व्यवस्था आफै गर्नु भनिएकाले अन्यौलमा रहेका व्यवसायीहरुको गुनासो छ ।
यता इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भने समस्याको समाधानमा लागि लागी परेको बताउनु भयो । श्रेष्ठका अनुसार तत्काललाई सानो टुडिखेल सुनगाभा अगाडीको खाली स्थानमा रहेर व्यवसाय गर्ने व्यवस्था मिलाउने नगरसँग निर्णय भएको छ ।
जिल्लाका सोयाङ्ग , नाम्सालिङ्ग , गोदक , माइपोखरी , जमुना , सुम्बेक , सुलुबुङ्ग , नेपालटार , चमैता लगायत जिल्ला र बाहिरका जिल्ला झापा पाँचथर भारतका व्यवसायीहरु यही बजारको भरमा छन् । यसैलाई नै आफ्नो रोजीरोटी बनाएर व्यवसाय गर्नेहरु मध्ये दिनमा एक हजार देखि २० हजारसम्म कमाई गरीरहेका व्यवसायीहरु रहेको व्यापारी अनिल बराईले जानकारी दिनु भयो । उहाँका अनुसार सुरक्षित नभएका कारण कोपी , टमाटर , बोडी , साग , धनिया जस्ता तरकारी नाश भइरहेका छन् ।
जिल्लाका सोयाङ्ग , नाम्सालिङ्ग , गोदक , माइपोखरी , सुम्बेक , सुलुबुङ्ग , नेपालटार , चमैता , झापा र पाँचथर जिल्ला लगायतका ठाउँबाट लाखौँ रुपैँयाका तरकारी सदरमुकाममा भित्रिने गरेको छ ।
इलाममा गुणस्तरिय र व्यवस्थित बजारका लागी नौ करोड ३८ लाख ५६ हजार एक सय ६९ रुपैया ५२ पैसाको लागतमा इलाम सिटी मार्ट भवन निर्माण गरिन लागेको हो । बिकोई भगवती जे.भी. इलाम निर्माण व्यवसायीले २०७६ चैत्र ३० गते सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा लिएको छ ।