विकासमा नयाँ दौड“सजिलो रोङ”

 इलाम :  रोङ गाउँपालिकालाई “सजिलो रोङ” बनाउने उद्घोष गरेका जनप्रतिनिधिहरु अहिले त्यही लक्षका साथ काममा व्यस्त छन् । भष्टचारलाई शुन्य बनाएर विकासको गतिलाई तिव्रता दिनका लागि तिव्र गतिमा योजना कार्यान्वायन भइरहेको गाउँ पालिका उपाध्यक्ष चन्द्रकला राई (बुडाथोकी) बताउँछिन् ।
चालु आर्थीक बर्षमा ३२ करोड भन्दा माथीको बजेट कार्यान्वायन गर्ने लक्ष राखेको गाउँपालिकाले करहरु भने गाउँ विकास हुदैको दरमा मात्रै उठाउने योजना बनाएको छ । “खास करको महसुस भएको छैन, विकासले गति पाएको छ ।” जिर्मलेका शिक्षक गोविन्द पौड्यालले सुनाए ।
गाउँघरमा बाटो बनेको छ, खानेपानी, सिंचाई, कृषिका योजनाहरु धमाधम बनेका छन् । कृषिमा अघिल्लो बर्ष नै नमुना बजेट विनियोजन गरेको गाउँपालिकाले यस पटक पनि राम्रो बजेट विनियोजन गरेको उपाध्यक्ष राईले बताइन् ।
उपाध्यक्ष राईका अनुसार जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद लगायतमा गाउँ विकास समितिले लिने गरेको करमा वृद्धि भएको छैन । नागरिकताको शिफारीसमा अन्य स्थानीय निकायले महंगो कर असुल्ने गरेका छन् । रोङ गाउँपालिकाले भने निशुल्क नागरिकता शिफारीस गरिरहेको छ । छिमेकको सुर्योदय नगरपालिकाले नागरिकता सिफरीसको मात्रै २ सय देखि ५ सय सम्म लिने गरेको छ ।
भुमि कर लयागतमा गत बैशाख र जेष्ठमा प्रत्येक वडामा नगरिक भेला गरेर नागरिककै रायमा आधारमा कर तोकेको गाउँपालिका अध्यक्ष सम्सेर राईले जानकारी दिए । उनका अनुसार अन्य करमा पनि साविकको गाउँ विकास समितिको भन्दा बढिमा २५ प्रतिसत मात्र कर वृद्धि भएको छ । अध्यक्ष राई भन्छन् “नागरिकको चाहना विपरित कुनै काम गर्दैनौ ।” गाउँपालिकाले योजना निर्माणका क्रममा नै टोल टोलको सुझाव संकलन गरेको अध्यक्ष राईले बताए । रोङ गाउँपालिकाले चालु बर्षमा आन्तरीक आम्दानी १ करोड र राजस्व वाडफाडबाट प्राप्त हुने ६ करोड १० हजार प्राप्त गर्ने लक्ष राखेपनि ३२ करोड ७ लाख १२ हजार खर्चगर्ने योजना बनाएको छ । राईले भने “करको बोझ बोकाउँदा मात्रै संवृद्धिको बाटो समात्न सकिदैन, विकासमा जनसहभागितालाई प्रात्साहन गर्ने नीति लिएका छौ ।”
गाउँपालिकाले गत बर्ष नै धार्मिक पर्यटकीय स्थल पाथीभराको गुरु योजना निर्माण गरिसकको छ भने कृषिमा बैकल्पीक आय आर्जनलाई प्रोत्साहित गर्न अघिल्लो बर्ष देखि नै माहुरी स्रोत केन्द्र स्थापना गरेर आधुनीक मौरी पालनलाई प्रोत्साहित गरेको उपाध्यक्ष राईले बताइन् । ग्रामिण पर्यटन प्रवद्र्धनका लागि होम स्टे सञ्चालनका लागि समेत काम शुरु भएको राईले बताइन् । गाउँपालिकाले सडकको स्तरउन्नती देखि विद्यालयलाई गाडी खरिदमा अनुदान दिने लगायतका कार्यक्रम अघि सारेको अध्यक्ष राईले बताए । गाउँ पालिकाले भूमिहनि र सुकुम्वासीको लगत संकलन गरी अव्यवस्थीत बसोबासलाई व्यवस्थीत गराउने, बर्षौ देखि भोग चलन गरिएका तर लालपुर्जा नपाएकालाई आवश्यक कानुन बनाएर धनिपुर्जा दिलाउने लगायतका कार्यक्रम समेत अघि सारेको उपाध्यक्ष राईले बताइन् । गाउँपालिकाको ६ वटै वडालाई जोड्ने रोङ रोडको निर्माण देखि पर्यटकीय स्थल जोड्ने सिमा सडक बनाउने लगायतका योजना सञ्चालन गर्न लागेको उपाध्यक्ष राईले जानकारी दिइन् । गाउँपालिकाले यस बर्ष सरकारी विद्यालयका विद्यार्थीलाई तालिम सहित दुई वटा विद्यालयलाई २० वटा कम्प्युटर उपलव्ध गराउने देखि लागत साझेदारीमा स्कुल बस खरिद सम्मका योजना बनाएको अध्यक्ष राईले बताए ।
गाउँपालिकाले कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा २ करोड २ लाख ४ हजार विनियोजन गरेको छ । सामाजिक क्षेत्र अन्तरगत शिक्षा, स्वास्थ, खानेपानी लगायतमा १ करोड ७१ लाख १४ हजार विनियोजन गरेको छ । सडक, पुल लगायतका पुर्वाधारमा ५ करोड २० लाख ५२हजार विनियोजन गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वायनका लागि उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति र अध्यक्षको नेतृत्वमा विकास समस्या समाधान समिति बनाएको उपाध्यक्ष राईले बताइन् । उनले भनिन् “यसले शुसासन कायम गर्ने अपेक्षा लिएका छौ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार